मुस्ताङको स्याउ सिजन : गत वर्षभन्दा प्रतिकेजी १० रुपैयाँ बढी (फोटो फिचर)

मुस्ताङ– हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारीमा कृषकहरु लागेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाकेपछि त्यहाँका कृषकहरु यतिबेला स्याउ टिप्ने र बजार पठाउने तयारीका लागि जुटेका हुन् ।

स्याउ उत्पादनको राजधानी मानिने मुस्ताङमा उत्पादित स्याउ नेपाली र विदेशी बजारमा खुब रुचाउने गरिन्छ । अहिले त्यही मुस्ताङको स्याउ बजार जानका लागि तयारी अवस्थामा पुगेको छ । स्याउ करिब पाकिसकेको भए पनि बजार लैजानलाई टिप्नेदेखि लिएर अन्य व्यवस्थापनको काममा भने यसपटक स्थानीय नै खट्नुपर्ने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण यसवर्ष मुस्ताङमा बाहिरी जिल्लाका मजदुरलाई स्याउ टिप्न रोक लगाइएको हो ।

विगतका वर्षहरुमा स्याउ खरिद गर्ने व्यापारीहरुले बाहिरबाट मजदुर लगेर स्याउ टिप्ने गरेको भए पनि यसवर्ष कोभिडको जोखिमलाई मध्यनजर गरी रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ ।

उक्त बैठकले स्याउ बगैंचा धनीको जिम्मेवारीमा वडाबाट सिफारिस भएर आएमा थोक तथा बिक्रेतालाई क्वारेन्टाईनमा सुरक्षा मापदण्ड पालना गरी बगैंचा हेर्न पाउने निर्णय पनि गरेको छ । सिसिएमसीको वैठकमा स्याउ टिप्नका लागि कामदारहरु जिल्ला बाहिरबाट ल्याउन नपाइने समेत निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो । स्याउको बगैंचा हेर्न र ठेक्का लिनका लागि एकजना मात्र ठेकदार आउन पाउने हुँदा कोभिड–१९ को सबै सुरक्षा मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

गत वर्षको तुलनामा केही कम फले पनि यसवर्ष ५ हजार ५ सय मेट्रिक टन स्याउ बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङले जनाएको छ । गतवर्ष ५ हजार ५ सय २८ मेट्रिक टन स्याउ निर्यात भएकोमा यसवर्ष उत्पादन केही कम भए पनि राम्रोसँग पाक्न पाएकोले मूल्य भने धेरै पर्ने जनाइएको छ । गतभन्दा यसवर्ष प्रतिकेजी १० रुपैयाँ मूल्य बढी तोकिएकाले कृषकले पाउने मूल्यमा खासै फरक नपर्ने परियोजना कार्यान्वयन इकाई मुस्ताङका नायब प्राविधिक सहायक यमुना लामाले बताउनुभयो ।

मुस्ताङमा गतवर्ष १ हजार २ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा घरपझोङ गाउँपालिकामा २ हजार ६ सय ९४, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा १ हजार ३ सय ७०, थासाङ गाउँपालिकामा १ हजार ३ सय ६०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १०० र लोमान्थाङ गाउँपालिकामा ३ मेट्रिक टन स्याउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको तथ्याङ्क छ ।

यसवर्ष कोभिड–१९ को कारणले गर्दा यातायात नचलेको अवस्था र गएको साउन ५ गतेदेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडक खुल्न ढिलाइले गर्दा स्याउ ढुवानीमा समस्या भएको थियो । अब मुस्ताङको स्याउ असोज महिनाबाट पहिलो साताबाट मात्रै बजारमा लैजाने तयारीमा कृषकहरु रहेका छन् ।

मार्फाका स्याउ उत्पादक कृषक दिपक लालचनले यसवर्ष सडक नहुँदा स्याउ छिटो बेच्न नपाए पनि गुणस्तरीय स्याउ अहिले बजार जाने हुँदा आफूहरु खुशी भएको बताउनुभयो । गएको हिउँदमा अत्यधिक हिउँ र यसपटक वर्षा धेरै भएका कारण स्याउको उत्पादनमा कमी आएको उहाँले जानकारी दिनुभयो । यसवर्ष चिसो बढी भएको हुँदा ढुसी लागेर स्याउलाई दुःख दिएकाले उत्पादन कम भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.