महामारीमा एनआरएनएको भूमिका प्रशंसनीयः मन्त्री ज्ञवाली

काठमाडौं- मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ ।

मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै उहाँले कोभिड-१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली सङ्घले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली सङ्घ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

विदेशबाट फर्किएका नेपालीलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइरहेको र कतिपय योजनासमेत बनिसकेको उहाँको भनाइ थियो । नेपाल फर्केका नेपालीको ज्ञान र सीपको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा सङ्घले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।

छलफलमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीले राज्य सरह सङ्घप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताउनुभयो । सङ्घको साधन र स्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य शुरु गरिएको जानकारीसमेत उहाँले गराउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीले कोरोना सङ्क्रमणपछि समस्यामा परेका नेपालीको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वंयसेवा तथा कानूनी परामर्श सहितको पाँचमहिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घका महासचिव डा हेमराज शर्माले कोभिड–१९ को कहरका बीच सङ्घको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबस्थित नेपाली राजदूत, सङ्घका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.