धनकुटामा २६ दिनदेखि जारी निषेधाज्ञा हट्यो

धनकुटा– कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि धनकुटामा २६ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सिमामा कडाई गर्दै आउँदो मंगलबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बैठकले कोरोना भाईरसको भयाभह अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा वाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको सहाय प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो । उहाँले प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रशासनले धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते संक्रमण देखिएपछि पहिलो पटक साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडा निषेधाज्ञा जारी गरेको थियो । यस्तै गएको भदौ ३ गते शहीदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएपछि भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभर निषेधाज्ञा थप गरेको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण गर्ने काम भइरहेको भन्दै प्रशासनले पुन भदौ १७ गतेसम्म निषेधाज्ञा थपेको थियो ।

गत भदौ १३ गते धनकुटा एकैपटक १९ जनामा कोरोना संक्रमण तथा सोही दिन धनकुटा आएका प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई धनकुटाबाट फर्के लगत्तै कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा भदौ २२ गते राती १२ बजेसम्म लम्ब्याएको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सम्पर्कमा रहेका व्यक्तिलाई १४ दिनसम्म राख्दासमेत कुनै लक्षण देखानपरेको र पिसिआर रिपोर्टसमेत नेगेटिभ आएपछि केहि खकुलो बनाएको सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो । निषेधाज्ञा हटे पनि सरकारले प्रतिबन्ध गरेको होटल, रेष्टुँरा, सैलुन, व्युटीपार्लर, जिमहाउस, पार्टीप्यालेस, मठमन्दिर र अन्य भेला हुने कार्यक्रम भने पुर्ववत अवस्थामै रोक लगाउने निर्णय भएको उहाँले बताउनु भयो। यसका साथै खाद्यान्न र अतिआवश्यक सवारीसाधन बाहेकका सवारीलाई जिल्ला बाहिर आउँजाउँमा रोक लगाउने निर्णय भएको छ ।

जिल्लामा हालसम्म ४० जनामा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये २० जना उपचारमा छन् भने बाँकी २० जना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.