चितवन र पोखरामा कोरोना संक्रमणबाट थप १-१ जनाको मृत्यु
काठमाडौं- चितवन र कास्कीमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा हिजो साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
चितवनको भरतपुर अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । मृत्यु भएका मध्ये चितवनका मात्र १२ जना रहेका छन् ।
यसैगरी कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण पोखरामा पनि एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.अर्जुन आचार्यले जानकारी दिनुभयो ।
हिजो अपरान्ह थप १ जनाको मृत्यु भएसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्रै कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ ।-
प्रतिक्रिया राख्नुहोस्