लम्जुङको नमूना सामुदायिक अस्पताल संचालनमा आर्थिक समस्या
लम्जुङ- लमजुङको सुन्दरवजास्थित नमूना सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष राखेकै कारण नियमित रुपमा आउने बिरामीको संख्या घट्दै गएपछि अस्पताल सञ्चालनमा समस्या आएको छ ।
बिरामीको संख्या घटेपछि अस्पतालले बिभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको छ ।
समूदायले सञ्चालन गरेको अस्पताल व्यवस्थापनमा कोभिड–१९को प्रभावसँगै विरामीको संख्या कम हुँदै गएपछि कठिनाई भएको भन्दै सरोकारवालाहरुसँग सहयोगको अपिल गरेको हो ।
आर्थिक अभावकै कारण अस्पतालमा गत महिना देखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तलब दिन समेत समस्या भएको नमूना सामूदायिक अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो ।
अस्पतालमा मासिक करिब ६ लाख रुपयाँ खर्च हुने र अस्पतालमा बिरामी नै आउन छाडेपछि स्वास्थ्यकर्मी र कर्मचारी राख्न निकै समस्या भएको अधिकारीको भनाइ छ ।
जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढदै गएसँगै अस्पतालले एक तला आइसोलेशनका लागि उपलब्ध गराएको छ । आइसोलेशनमा कोरोना संक्रमितहरु राखेसँगै अस्पतालमा विरामीहरु डराएर आउन छाडेका छन ।
असार १८ गतेदेखि नमूना सामुदायिक अस्पतालमा आइसोलेशन वार्ड संचालनमा आएको हो । अब अर्को महिनाबाट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तलव उपलब्ध गराउन नसकिने अवस्था रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
अस्पतालमा कोरोना संक्रमितहरुलाई आइसोलेशन सञ्चालन गरिएपनि फाट्ट फुट्ट आएका विरामीहरुलाई उपचार नरोकिएको अस्पतालले जनाएको छ ।
अस्पतालको तेश्रो तलामा आइसोलेशन वार्ड राखिएकोले अस्पतालमा आएका अन्य विरामीहरु कोरोना संक्रमितको सम्पर्कमा नपुग्ने हुँदा सुरक्षा राम्रो भएको अस्पतालका मेडिकल अधिकृत डा. उत्कृष्ट अधिकारीको भनाइ छ ।
हालसम्म न्युन संख्यामा विरामी आएपनि उपचारबाट कोही पनि बञ्चित नभएको डा अधिकारि बताउनुहुन्छ ।
यसैबीच, जिल्लामा क्रियासिल गैरसरकारी संस्था च्वाइस नेपालले डोटेरा हेलीङ हेन्सको आर्थिक सहयोगमा र ब्रिटिस वेलफर ट्रस्ट पोखराले नमूना सामुदायिक अस्पताललाई करिब ६ लाख बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
अस्पतालको सेवा प्रवाह व्यवस्थापनमा थप सहयोग गर्ने उदेश्यसहित स्वास्थ्य सामाग्री सहयोग गरिएको च्वाइस नेपालका निर्देशक प्रतिक शर्माले जानाकारी दिनु भयो ।
यी संस्थाहरुले अस्पतालको लागि हेण्डफुड, अटो अक्सिजन, सेनिटाइजर, माक्स पीपीई सेट लगाएतका सामाग्रीहरु सहयोग गरेका हुन ।
२०६७ सालबाट सञ्चालनमा आएको सो अस्पतालमा अहिले करिव पाँच करोडको लागतमा आधुनिक कोठाहरु, प्रयोगशाला, विरामी सघन कक्ष, विभाग, विद्युत गृह, एक्स-रे कोठा, इन्टरनेट र चमेनागृहको प्रर्याप्त सुविधा छ ।
१५ शैयाको यस अस्पतालले आकस्मिक सेवा, ओपिडि सेवा, ल्याव, एक्सरे, भिडियो एक्सरे, र दन्त सेवा गुणस्तरिय रुपमा प्रदान गर्दै आएको छ ।।
प्रतिक्रिया राख्नुहोस्