३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

धनुषा- मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् ।
सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।
जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।
जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ ।-






प्रतिक्रिया राख्नुहोस्