गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माणको काम लगभग सम्पन्न
उपकरण जडानका लागि ३५ चिनियाँ दक्ष प्राविधिक-इन्जिनीयरको टोली आउँदै
रुपन्देही- राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ ।
कोभिड-१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आउनुभएको छ । पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिनुभएको थियो ।
गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।
बन्दाबन्दीको अवधिमा पनि निरन्तर काम हुँदा धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकिएको छ । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ ।
चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्तीलगायत सामग्री आइसकेको छ । हाल उपकरण जडानका लागि ३५ चिनियाँ दक्ष प्राविधिक-इन्जिनीयर जनशक्ति ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।-






प्रतिक्रिया राख्नुहोस्