म्याग्दीको कालिज फार्मभित्र चितुवा पस्यो
म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित हरियाली ग्रुपले सुरु गरेको व्यवसायिक कालिज फार्ममा चितुवा पसेको छ ।
४ सय ५० वटा कालिजहरु पालिएको फार्म भित्र गएराति चितुवा पसेको हो ।
फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति संख्यामा कालिज मारेको भन्ने एकिन नभएको फार्मका प्रवन्ध निर्देशक शेरबहादुर केसीले जानकारी दिनुभयो ।
अहिले कालिजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुल्ला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भैरहेको छ ।
चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीबाट दुईजना कर्मचारी र तातोपानी प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका छन् ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले कार्यालयसँग रहेको फलामे खोरको सहायताले चितुवा नियन्त्रणको प्रयास गरिए पनि फार्मको क्षेत्र ठूलो र खुल्ला ठाउँ भएकाले समस्या भएको बताउनुभयो ।
फार्मभित्र पसेको चितुवाको वरिपरी धेरै भीडभाड नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
चितुवा नियन्त्रण गर्नका लागि प्रदेश वन निर्देशनालय पोखरामा जानकारी गराएपछि त्यहाँबाट नियन्त्रणको टोली झिकाउन चितवन राष्ट्रिय निकुञ्जमा आग्रह गरिएको निमित्त प्रमुख खनालले जानकारी दिनुभयो ।
खबरलगत्तै राष्ट्रिय निकुञ्जको चितुवा नियन्त्रणको डार्टिङ टिम (प्राविधिक टोली) म्याग्दीतर्फ लागेको उहाँले बताउनुभयो ।
डार्टिङ टिम आएपछि मात्रै चितुवालाई बन्दुकको सहायतामा सिरिन्ज प्रहार गरी लठ्याउन सकिने र त्यसपछि नियन्त्रणमा लिई सामुदायिक वन क्षेत्रमा लगेर छाडिने निमित्त प्रमुख खनालको भनाइ छ ।
कुखुरा वा बाख्राको खोरभित्र पसेको भए चितुवालाई सजिलै नियन्त्रणमा लिन सकिने भए पनि खुल्ला ठाउँमा रहेको कालिज फार्म भित्र पसेको हुँदा समस्या बिज्ञको भनाइ छ ।
बिहान कालिजलाई दानापानी दिने क्रममा प्रालिका कर्मचारी फार्मभित्र पस्दा बयस्क चितुवा फार्म भित्र थियो । आहाराको खोजिमा चितुवा जाली नाघेर कालीजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्