पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अबरुद्ध

पर्वत- अविरल बर्षासँगै आएको पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा पर्ने सहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

करिब ५ सय मिटर सडक माथिबाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको छ । पहिरो दिउँसो १ बजेसम्म पनि झरिरहेका कारण सडक खुलाउने काम अघि बढाउन नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । सडकमा पहिरो खस्न रोकिएपछि काम सुरु गरिने र त्यसको ५ घण्टापछिमात्रै खुलाउनमा मात्रै समय लाग्ने उहाँले बताउनुभयो ।

आइतबार बिहान ६ बजेको समयमा पहिरो सडकमा झरेपछि अबरुद्ध भएको थियो । कोरोना महामारीको समयमा सडकमा सवारीको चाप घटेपनि सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ । विशेषत बागलुङ, म्याग्दी र मुस्ताङमा उपचार हुन नसकेर पोखरा रिफर गरिएका विरामीहरु समस्यामा परेका छन् ।

सडक अबरुद्ध भएपछि बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाबाट बाहिरिने सवारी साधनहरु सहस्रधारा तर्फ नै रोकिएका छन् भने पोखरा, काठमाण्डौ लगायतका लामो दुरीका सवारी साधनहरु कुश्मा १ नयाँपुलमा अलपत्र अवस्थामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.