‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो ।

भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ ।

भदौ २९ गते सोमबार दिउँसो १.२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो ।

साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उहाँले बताउनुभयो । भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौँथी तिथि परेको थियो ।

यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उहाँको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीको भनाइ छ ।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहतसंहितालगायत ग्रन्थमा उल्लेख भएपनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउनुहुन्छ ।

रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभएपनि सामान्य रुपमा साइत दिनु नहुने समयकै साइत भदौ २१ गते आइतबार दिइएको पाइएको उहाँले जानकारी दिनुभयो ।

तिथिको हिसाबले भदौ २० गते शनिबार वा भदौ २२ गते सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउनुहुन्छ । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि गलत भएको ज्योतिष शास्त्रीहरुको भनाइपछि भदौ २९ गते सोमबारको साइत दिइएको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्न र बुङ्मती भित्र्याउने साइत दिने फरक नियम छ भने त्यो सार्वजनिक गर्नसमेत ज्योतिष शास्त्रीले माग गरेका छन् । साइत निकाल्न सहभागी हुने गर्नुभएका दुवै ज्योतिषीले दिनुभएको जानकारीअनुसार पुर्खाले बनाइदिएको निश्चित सूत्रलाई आधार मानी ज्योतिष शास्त्रको सिद्धान्तअनुसार नै साइत दिइने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.