नयाँ बर्षको पर्व नजिकिएसँगै इजरायलमा पुनः देशव्यापी लकडाउन घोषणा
काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नरोकिएपछि इजराइलले तीन हप्ताका लागि दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।
ज्युजहरुको नयाँ वर्ष नजिक आएकाले पनि भाइरसको थप संक्रमण हुन सक्ने भन्दै कडा प्रतिबन्ध सहितको लकडाउनको घोषणा गरिएको हो । दोस्रो चरणको लकडाउन आगामी शुक्रबारबाट लागू हुनेछ ।
इजराइलमा दैनिक ४ हजारभन्दा बढीमा संक्रमण हुन थालेपछि दोस्रो चरणको लकडाउन गर्नु परेको बताइएको छ । इजराइलमा पहिलो चरणको लकडाउन मार्च अन्त्यतिर शुरु भई मे महिनामा सकिएको थियो ।
शुक्रबारदेखि शुरु हुने दोस्रो चरणको लकडाउनमा दश जनाभन्दा बढी घरभित्र पनि भेटघाट गर्न नपाइने व्यवस्था छ । घर बाहिर भने २० जनासम्म हिड्न पाउने व्यवस्था छ ।
यसैगरी विद्यालय तथा सपिङ सेन्टरहरु बन्द हुनेछन् तर सुपरमार्केट र औषधि पसल भने खुल्ला हुनेछन् । इजराइलमा हालसम्म कोरोना संक्रमणका कारण ११ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने १ लाख ५३ हजारभन्दा बढी संक्रमित छन् ।
विश्वमा कोरोनाबाट बढी प्रभावित अमेरिका र ब्राजिलमा संक्रमण दर र मृत्युदर घटे पनि भारतमा भने संक्रमण दर र मृत्युदर दुबै बढेको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ९३ हजारभन्दा बढी संक्रमित भएका छन् । यसैगरी एकै दिनमा मृत्यु हुनेको संख्या पनि ११ सयभन्दा बढी छ ।
यसैगरी अमेरिकामा पछिल्लो २४ घन्टामा ३० हजार बढी संक्रमित भएका छन् भने ब्राजिलमा १४ हजार बढी संक्रमित छन् । दुबै मुलुकको दैनिक मृत्युदर ३ सयको हाराहारीमा पुगेको छ । विश्वमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ९१ लाख नाघेको छ । कोरोना संक्रमणकै कारण विश्वभर ९ लाख २८ हजारको हाराहारीमा मानिसको ज्यान गएको छ ।-
प्रतिक्रिया राख्नुहोस्