भूकम्पले सिन्धुपाल्चोकमा क्षति छैनः प्रहरी
केन्द्रविन्दु रहेको स्थानमा पुनः हुन सक्ने जोखिमबारे अध्ययन गरिदिन माग
सिन्धुपाल्चोक– प्रहरीले बुधबार बिहान गएको भूकम्पले सिन्धुपाल्चोकमा कुनै क्षति भएको खबर नआएको जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा गएको भूकम्पले भौतिक तथा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर, स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासन र स्थानीय पालिकाले अपिल गरेको छ ।
भूकम्पको धक्काले राम्चे गाउँमाथि चर्किरहेको पहरोमा केहि हुन्छ कि भन्ने डरले स्थानीय त्रसित भएको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेका वडाअध्यक्ष सानु लामाले बताउनुभयो । गाउँमागिका भीर र पहराहरु चर्किएको अवस्थामा भए पनि हाल कुनै दुर्घटना नभएकाले नआत्तिन उहाँले अपिल गर्नुभयो । लामाले केन्द्रविन्दु रहेको स्थानमा पुनः हुन सक्ने जोखिमबारे अध्ययन गरिदिन संघीय र प्रदेश सरकारालाई अनुरोध गर्नुभएको छ ।
पहिरोको उच्च जोखिम रहेको यस गाउँमा भूकम्प गए पछि स्थानीय त्रसित बनेका छन् । पहिरोको जोखिमका कारण राम्चेका कुकुरगाडे र भट्टे आसपासका करीव २० घरधुरीका स्थानीयहरु बस्ती छाडि राजक्षेत्र डाँडामा त्रिपालको गोठमा बसिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्