पाल्पा क्याम्पसका विद्यार्थीः ‘बुहारी-आमा’
पाल्पा- पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी-बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी बनाएको हो । यहाँ भर्ना भएका कूल विद्यार्थी सङ्ख्यामध्ये ८१ प्रतिशत विद्यार्थी छात्रा नै छन् । तीमध्ये पनि अधिकांश बुहारी तथा आमा बनिसकेका छन् ।
स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गर्दै आएको यस क्याम्पसका अधिकांश विद्यार्थी छोरी, बुहारी र आमाहरु छन् भने स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीमा त धेरैजसो बुहारी र आमा नै भेटिन्छन् ।
विसं २०४६ को जनआन्दोलनपश्चात् गण्डकबेँसीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न यहाँका स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालनमा ल्याइएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो ।
मानविकी सङ्कायको प्रविणता प्रमाणपत्र तहको मात्र पठनपाठन शुरु भएको यस क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मकै पठनपाठन हुने गरेको छ । क्याम्पसबाट पूर्वी पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकलाई शिक्षा आर्जन गर्ने राम्रो अवसर मिलेको छ ।
विशेषतः गाउँघरमा पुरानो सोचाइ र संस्कारले गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि तत्कालीन समयमा छोरी तथा बुहारीलाई उच्च शिक्षका लागि अन्यत्र नपठाउने चलन थियो । गाउँघरमा क्याम्पस नभएपछि छोरी–बुहारीलाई बाहिर राखेर शिक्षा दिनुपर्छ भन्ने सोचाइ त्यस समयमा कमैले मात्र राख्थे । अर्को कुरा बाहिर शहरबजारमा बसेर पढ्न आर्थिक समस्याले गर्दा पढ्ने मन हुँदाहुँदै पनि बीचमै पढाइ छाड्नुपर्ने बाध्यता धेरैको थियो ।
यस्तो परिस्थितिमा रामपुरमा नै क्याम्पस तहको पठनपाठन शुरु भएपछि गण्डकीबेँसीका धेरै नागरिकले सहजरूपमा शिक्षा आर्जन गर्ने अवसर पाएका हुन् । अहिले नै पनि बुहारी तथा आमाहरुले स्नातक तथा स्नातकोत्तर तहको शिक्षा आर्जन गर्ने चाहना राखे पनि विभिन्न बाधा व्यवधानले गर्दा अन्यत्र पढ्न पठाउने चलन कमै छ ।
कुनै समय छोरी बुहारीलाई पढाउनुपर्छ भन्ने सोचाइ नराख्ने हाम्रो समाजमा अहिले छोरी–बुहारी तथा आमा विद्यार्थी नियमित कक्षामा सहभागी भएर पढिरहेको देख्दा राम्रो लागेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउनुहुन्छ । “पढ्ने चाहना भएकाले घरायसी काम गरेर भए पनि इच्छा पूरा गरिरहेका छन् भने पछिल्लो समय स्नातकोत्तर तह पढ्ने समाजमा कमै भेटिन्थे भने अहिले धेरै रहेका छन् र त्यसमा पनि हामीकहाँ स्नातकोत्तर तहमा बुहारी तथा आमा समूहको बर्चस्व छ”, उहाँले भन्नुभयो ।
विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो भने विसं २०५५ मा तत्कालीन उच्च माध्यमिक शिक्षा शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, विसं २०६६ मा व्यवस्थापन र विसं २०६७ मा स्नातकोत्तर तह शुरु गरिएको थियो ।
हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायतर्फको नेपाली शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन विषय सञ्चालन भइरहेको छ ।
हाल यस क्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस क्याम्पसका पूर्वाधारमा दुईतले एउटा कार्यालय भवन, दुई कच्ची भवन, विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण भएको दुईतले छ कोठे भवन, रामपुर नगरपालिकाको सहयोगमा दुईतले चारकोठे पक्की भवन छन् ।
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत रु ६० लाख बजेट सहयोगमा निर्माणाधीन चारकोठे भवन, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ सरकारबाट प्राप्त रु ४० लाख सहयोगमा दुईतले चारकोठे भवन निर्माणाधीन छ । करिब १०० मानिस अट्ने क्षमताको एक सभाहल छ ।-
प्रतिक्रिया राख्नुहोस्