राष्ट्रसंघको महासभा यस पटक बन्यो अपूर्व

संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ ।

कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो ।

महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान रहेको छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ ।

महासभामा विश्वभरका नेताहरुले सम्वोधन गर्ने, एक अर्कालाई भेट्ने, छलफलहरु गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गर्ने हुँदै थियो । तर अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ ।

महासभा चलिरहेका बेला राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने गरेको भएपनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मीहरु देखिएका छन् ।

राष्ट्रसंघ मुख्यालय वरीपरीको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको बेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाको बेला जस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकारहरु मात्रै देखिने गरेका छन् ।

राष्ट्रसंघको महासभा भइरहेको बेला मुख्यलय रहेको न्युयोर्क शहरकै चहल पहल फरक हुने गरेको स्थानीयको अनुभव छ ।

महासभा चलिरहेका बेला विश्वभरका नेताहरुको ध्यानाकर्षण गर्न धेरै प्रदर्शनहरु हुने र विभिन्न प्रदर्शनीहरु पनि चलाइने गरिन्थ्यो ।

सभा हलमा विश्वका नेताहरुको अनुपस्थिति विना पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन ।

झण्डै सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरु छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन ।

अहिले चलिरहेको ७५औं महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरु भने चलि नै रहेको छ ।

राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पढाउन आह्वान गरेको थियो । सोही आह्वान अनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ ।

महासभा संचालन हुने हलमा कोही मानिस नै नभएका चाहिं होइनन्, त्यहाँ झण्डै दुई सय मानिस भने रहेका छन् । जबकी अघिल्ला बर्षहरुमा त्यही हलमा झण्डै २५ सय मानिस हुने गरेका थिए ।

अहिले हलमा रहेकाहरु पनि सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने नियम बनाइएको छ ।

मुख्यालय वरीपरी व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि अहिले राम्रो व्यापारको मौका गुमेको गुनासो गरेका छन् । आफूलाई मारिया नाम बताउने एक स्थानीय व्यवसायीले अघिल्लो बर्षको स्मरण गर्दै भन्नुभयो, “अघिल्लो बर्ष यहाँ अति धेरै मानिसहरु आएका थिए, अहिले त एक जना मात्रै ग्राहक छन् ।”

महासभा चलिरहेका बेला आफू अत्यधिक व्यस्त हुने गरेपनि अहिले कुनै काम नभएझै फुर्सदिलो भएको पनि उहाँले बताउनुभयो ।

उहाँ जस्तै अरु पनि धेरै व्यवसायीहरुले पहिलाको जस्तै चहल पहल र कारोबार कहिले होला भनेर प्रतिक्षा गरिरहेको देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.