हेम–सुनिल जोखिमपूर्ण पत्रकारिताबाट दुई जना नेपाल टेलिभिजनकर्मी पुरस्कृत

काठमाडौं– समाचार संकलनको सिलसिलामा १४ वर्षअघि ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा दिवंगत समाचारकर्मीहरु हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित टेलिभिजन जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभजनकै दुईजना पुरस्कृत हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ टेलिभिजन प्रतिष्ठान शाखाले उहाँहरुका सम्झनामा साथै अन्य दिवंगत पत्रकारको स्मृतिमा स्थापित सम्मानबाट विभिन्न सञ्चारकर्मीलाइ पुरस्कृत गरेको छ । पुरस्कृतहरुलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुरस्कार प्रदान गर्नुभयो ।

हेम(सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार २०७७ नेपाल टेलिभिजनका किशोर निरौला र क्यामेरा पर्सन टेकबहादुर खड्कालाई प्रदान गरियो । नेपाल पत्रकार महासंघ टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उहाहरुलाई पुरस्कृत गर्नुभयो । नेपाल टेलिभिजनका सम्बाददाता हेमराज भण्डारी र क्यामेराम्यान सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रत्येक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि ५१ हजार रुपैया रहेको छ ।

कार्यक्रममा राजेन्द्रदेव आचार्य स्मृति सम्मानबाट समाचार महासाखाका निर्देशक मनोहरि थापा, जयप्रकाश स्मृति सम्मान कार्यकारी निर्माता नीता सापकोटा शशि चालिसे स्मृति सम्मान कार्यकारी क्यामेरा पर्सन अरविन्द आचार्य, र वीरेन्द्र कार्की स्मृति सम्मान वरिष्ठ दृश्य सम्पादक दीपकजंग हमाललाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी अग्रज पत्रकार सम्मान प्रमुख सामाचार सम्पादक महाप्रसाद लामिछाने, कार्यकारी समाचार सम्पादक सतीशचन्द्र पौडेल, कार्यकारी क्यामेरापर्सन मोहन घिमिरे र वरिष्ठ कार्यक्रम निर्माता नारायण श्रेष्ठलाई प्रदान गरियो ।

पुरस्कार वितरण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नराम्रा कुराको उजागर गर्दै सकारात्मक कामको संरक्षण र प्रचार गर्ने तर्फ सञ्चार माध्यम लाग्नु पर्ने वताउनु भयो । राज्यले सञ्चार क्षेत्रलाईअनावश्यक नियन्त्रण नगर्ने बताउनुहुँदै अध्यक्ष तिमल्सिनाले पत्रकारितालाई कतिपयले कमाइखाने माध्ययम बनाउने गरेकोले त्यसबाट जोगाउने दायित्व सञ्चार जगतकै भएको बताउनु भयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता पेशा सधै जोखिम पूर्ण हुने उल्लेख गर्नुहुँदै प्राप्त उपलब्धिको रक्षा गर्न र नागरिक तहसम्म सन्तुलित सूचना प्रवाह गर्न नेपाल टेलिभिजन निरन्तर लाग्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले पुरस्कारले हेम–सुनिलले सम्झनालाई चिरस्थायी बनाउनुका साथै पत्रकारलाई जस्तोसुकै परिस्थितिमा जनतालाई सुसुचित गर्न प्रेरणा प्रदान गर्ने वताउनु भयो ।

पुरस्कार छनौट समितिका सदस्य वरिष्ठ पत्रकार बबिता बस्नेतले १२ वटा प्रतिस्पर्धी सामग्रीबाट नुवाकोट र रसुवाको सीमामा हिमपातका समयमा गरिएको सामग्री पुरस्कृत भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालले पुरस्कारले पत्रकारलाई जिम्मेवार बन्न प्रेरणा दिने बताउनुभयो । पुरस्कृत हुनुभएका किशोर निरौलाले पुरस्कारले थप जिम्मेवारी थपिएको बताउनुभयो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालिन वन राज्यन्त्री गोपाल राई भूगोलविद् डा हर्क गुरुङ सहित नेपाल टेलिभिजनका सम्वाददाता हेमराज भण्डारी र क्यामेराम्यान सुनिल कुमार सिंह गरि २४ जनाको निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.