विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिनुभयो । “जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्”, मन्त्री पुनले भन्नुभयो, “नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं” मन्त्री पुनले भन्नुभयो ।

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोभिड-१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभयो ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने-जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गर्नुभयो ।

आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मूल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.