पाँचथरमा निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीयलाई सास्ती
पाँचथर- आवतजावतमा समस्या खेपेका यहाँका स्थानीय पुल बन्न थालेपछि असाध्यै खुशी भएका थिए ।
तर उनीहरुको खुशी धेरै दिन रहेन । यतिबेला निर्माण ठप्प भएपछि पुल नै नबल्ला भन्ने चिन्तामा पो परेका छन स्थानीयबासी ।
पाँचथर जिल्लाको कुम्मायक र तुम्बेवा गाँउपालिका सिमानामा पर्ने सावा खोलामा बनाउदै गरेको मोटरेवल पुल निर्माणले गति लिन सकेको छैन। पुल बनाउने स्थानमा भने एकापटिको पुलको पिलर बनाएर छोडिएको छ ।
यसै आसपास रहेको तमोर पुल सुरुभएको नौ बर्ष बितेर पनि पुरा नभएको देखेका उनीहरु यो पुलको हालत पनि उस्तै हुने हो कि भन्दै निराश भएका छन ।
संघीय सरकारको सहयोगमा उत्तर-दक्षिण तमोर करिडोर लोकमार्ग आयोजनाबाट निर्माण गरिएको पुलको डिजाइनमा समस्या भएको भन्दै निर्माण कार्य रोकिएको हो । ४०मिटर लम्बाई रहेको पुल निर्माणका लागि ४ करोड ७० लाख रकम बिनियोजन भएको थियो ।
२०७४ साल भदौ २० गते भएको सम्झौता अनुसार दुई बर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्नेमा तीन बर्ष बितिसक्दा पनि पुल बन्ने संकेत छैन ।
समयमै सम्पन्न गर्ने लक्ष्य लिएता पनि संशोधन डिजाइन नदिएर कार्यालयको ढिलासुस्तीले निर्माण ठप्प भएको निर्माण ब्यवसायी दिनानाथ अधिकारी बताउनुहुन्छ ।
धनकुटाको मुलघाटबाट चीनसँग जोडिएको तिक्तलासम्मको तीनसय चार किलोमिटर सडकका लागि पुल बनाइएको हो ।
भारतसँग जोडिएको बिराटनगरको रानी भन्सारबाट सुरु भएर अन्तरदेशीय चीन जोड्ने सडक तथा पुल बिभिन्न समस्याले अलपत्र बनेको आयोजनाका इन्जिनियर संजिवकुमार गुप्ता बताउनुहुन्छ ।।
प्रतिक्रिया राख्नुहोस्