६५ देशका राष्ट्रगान गाउने नेपाली
काठमाडौं- कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उहाँको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्यो ।
विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्कनुभएका उहाँको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उहाँको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले शुरु हुन्छ ठेगान छैन ।
बागलुङ नगरपालिका-६ भीरलाङ्खुरीका ४१ वर्षीय उहाँको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो । कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उहाँ विश्वयात्रामा हुनुहुन्थ्यो ।
“स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ”, उहाँले भन्नुभयो, “अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ÷दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु ।” नेपालीले अहिले पूर्वी युरोपेली देश अलबानियाको राष्ट्रगान सिकिरहनुभएको छ ।
बन्दाबन्दी र निषेधाज्ञाको समय सिर्जना र साधनामा बिताएको उहाँले सुनाउनुभयो । यसबीचमा नेपालीले बागलुङ र म्याग्दीका कैँयन नयाँ ठाउँको घुमफिरसमेत गर्नुभयो । यात्राका क्रममा नेपालीले नै पहिलोपटक पहिचान गर्नुभएको बागलुङ नगरपालिका–७ र ६ को सीमास्थित ‘बुद्ध हिल’ अहिले पर्यटकीय आकर्षणका रुपमा चिनिन थालेको छ ।
उहाँले आइफिल टावरमा पुगी फ्रान्सको राष्ट्रगान गाएको स्मरण गर्नुभयो । बेल्जियम, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको नेपालीले बताउनुभयो । “जुन देश पुग्छु पहिले नेपालको राष्ट्रगान गाउँछु अनि सम्बन्धित देशको”, उहाँले भन्नुभयो ।
नेपालीले भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गर्नुभएको थियो । “भारतमा झण्डै चार महिना बिताएँ, नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक÷अनौपचारिक कार्यक्रम भए”, उहाँले भन्नुभयो, “एकै ठाउँमा चार-पाँच वटासम्म राष्ट्रगान गाएँ ।”
बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाउनुभयो । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुनेमा उहाँ आशावादी हुनुहुन्छ । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उहाँको भनाइ छ ।-
प्रतिक्रिया राख्नुहोस्