युरोपमा कोरोना संक्रमण पुन बढ्योः स्पेनको राजधानी म्याड्रिड लगायतका क्षेत्रमा पुनः लकडाउन
स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि राजधानी म्याड्रिड र त्यस आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ ।
नयाँ प्रतिबन्धात्मक व्यवस्था अनुसार अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । म्याड्रिडको क्षेत्रीय सरकारले भने लकडाउन कानुनी रुपमा वैधानिक नभएको जनाएको छ ।
ग्रेटर म्याड्रिडमा मात्रै पछिल्लो दुई हप्तामा १ लाख ३३ हजार बढी नयाँ संक्रमितहरु फेला परेका छन् । यसैगरी अर्को युरोपेली मुलुक बेलायतमा पनि पछिल्लो समय संक्रमितको संख्या व्यापक रुपमा बढेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संक्रमितको संख्या वृद्धि मात्र नभई संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढेकाले कडा प्रतिबन्ध लगाउन आवश्यक परे हिच्किचाउन नहुने बताउनु भयो ।
प्रधानमन्त्रीका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले परिस्थिति नियन्त्रण बाहिर गइसकेको बताउनु भयो । बेलायतमा पछिल्लो २४ घन्टामा मात्रै ७ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ७१ जनाको मृत्यु भएको छ ।
गत हप्ता मात्रै प्रधानमन्त्री जोनसोनले इङ्ल्याण्ड, बेल्स र स्कटल्याण्डमा राति १० बजेभित्र पब, रेस्टुरेन्ट, बार लगायतका स्थानहरु बन्द गरिसक्नुपर्ने व्यवस्था लागू गर्नुभएको थियो । यसै गरी विवाह समारोहमा १५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । साथै उत्तर पूर्वी इङ्ल्याण्डमा छिमेकीहरु आपसमा भेटघाट गर्न समेत प्रतिबन्ध लगाइएको छ ।-
प्रतिक्रिया राख्नुहोस्