विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्योः सेना

दार्चुला- दार्चुला ब्यास नगरपालिका-१ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड-छाङरु गोरेटोरघोडेटो बाटो खनेर स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारैकिनार भएर आवत-जावत गर्न सुबिधा भएको हो ।

उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

सदरमुकामदेखि घाँटीबगडहुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो । उक्त बाध्यता अन्त्य गर्न गत जेठ २६ गते बाटो निर्माण सुरु गरेको सेनाले चारमहिनाको भगीरथ प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो ।

प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी एक करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५५० मिटर लामो उक्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ । उक्त बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक अहोरात्र खटिएका थिए ।

हस्तान्तरण कार्यक्रममा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिलपरिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले त्यस क्षेत्रको विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले बाटो निर्माणमा सेनालाई सहयोग पुर्‍याउने प्रदेश सरकार र स्थानीय तह सबैप्रति धन्यावाद ज्ञापन गर्नुभयो । उक्त बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुङ्गा लागेर मृत्यु भएको थियो । सो अवसरमा बीमा बापतको रु १० लाखको चेक र योगदानको उच्च मुल्याङ्कन गर्दै प्रधानसेनापति प्रशंसा निशान उहाँकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो ।

बाटो सञ्चालनमा आएसगैँ त्यस क्षेत्रका १८४ घरधुरीका १ हजार २५० जनालाई हिड्न र पशु चौपाय ल्याउन पुर्‍याउन सहज भएको जनाइएको छ । उक्त मार्गको तम्पाकु खण्डमा सजिलोसग आवत जावत गर्न केही कठिनाई रहेकाले त्यसमा पनि सेनाबाट काम होस भनी स्थानीयले अनुरोध गरेकामा महाकाली करिडोर (दार्चुला-तिङ्कर) निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ । अति विकट भौगोलिक अवस्थाकाकारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटै समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.