खसीबोका बिक्रीबाट एउटै गाउँमा भित्रियो दुई करोड
बागलुङ- बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ । जिल्लाको काठेखोला गाउँपालिका-४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् ।
काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा गर्दै आएका हुन् ।
आर्थिक वर्ष २०७६-७७ मा सप्तरङ्गी सहकारीमार्फत ७१३ खसीबोका बिक्री गरी रु ८६ लाख ६८ हजार २५७ आम्दानी गरिएको संस्थाका सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो ।
यस्तै वसन्त सहकारीमार्फत ७१४ वटा खसीबोका बिक्री गरी रु ९२ लाख ९६ हजार ६५ आम्दानी गरिएको संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिनुभयो । दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका बिक्रीबाटै आर्थिक वर्ष २०७६-७७ मा मात्रै रु एक करोड ७९ लाख ६४ हजार ३२२ रकम भित्र्याएको हो ।
सप्तरङ्गी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ९६४ केजी बराबरको खसीबोका बिक्री गरेर रु एक लाख दुई हजार ८३२ नाफा गरेको छ । त्यस्तै वसन्त सहकारीले २१ हजार १२७ केजी खसीबोका बिक्री गरेर रु ९७ हजार ९१५ नाफा गरेको छ ।
दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४५० मा सङ्कलन गर्ने र ४५५ बिक्री गर्ने गरेका छन् । प्रतिकेजी जम्मा रु पाँच बढी लिएर सदस्यका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएको ती सहकारीले जनाएका छन् ।
सहकारीका शेयर सदस्यमध्ये कतिपयले २५ वटासम्म बोका बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार तङ्ग्रामका खसीबोका बागलुङ बजार र आसपासका क्षेत्रमा बिक्री हुँदै आएका छन् । हेफर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग र भीमापोखरा युवा क्लब (विवाइसी) बागलुङको व्यवस्थापनमा साबिक तङ्ग्राम गाविसमा विगत आठ वर्षदेखि पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालनमा रहेको छ ।
उक्त परियोजनाबाट सप्तरङ्गी सहकारीमार्फत २९६ र वसन्त सहकारीमार्फत ६११ जना शेयर सदस्यलाई आयआर्जनका काममा केन्द्रित गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रीता शर्माले जानकारी दिनुभयो ।
महिलालाई सदस्य बनाई आयआर्जनमा केन्द्रित गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यले सहयोग गरेका कारण विगत ५ वर्षदेखि एक सहकारीले मात्रै वार्षिक रु एक करोडभन्दा बढी रकम आम्दानी गर्न थालेका छन् । सहकारीका शेयर सदस्यलाई बाख्रापालन व्यवसायमा केन्द्रित गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा बिक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको सङ्ख्या बढेको हो ।
प्रत्येक परिवारमा दुई-चारवटा बाख्रा अनिवार्य पाल्ने गरेका छन्, व्यावसायिक रुपमा बाख्रा पाल्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सप्तरङ्गी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्