गाउँपालिका केन्द्र जोड्ने पक्कि सडकको शिलान्यास

काभ्रे- सडककै कारण वर्षायाम सुरु भएसँगै ३-४ महिनाको लागि खाद्यान्न जोहो गर्नुपर्ने काभ्रेको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिका केन्द्र जोड्ने पक्कि मोटरबाटो निर्माण हुने भएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसंग जोड्ने पक्कि सडक (कालोपत्रे) मोटरबाटोको निर्माण हुने भएको हो ।

बागमती प्रदेश सरकारको ४९ करोड बजेटबाट विनियोजन भएपछि पक्कि सडक निर्माणको कार्य शुरु हुन लागेको उक्त सडक पहिलो खण्ड महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने वडा नं. ५ को खोलाघारी-घ्याब्रिङ-देवीटार ८.७ किलोमिटर बाटोको शिलान्यास बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले गर्नुभयो ।

कार्यक्रममा हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताउनुभयो ।

जिल्ला सदरकमुकामदेखि डाँडापारिको महाभारत गाउँपालिका केन्द्र देवीटार जोड्न रोशी गाउँपालिकाको पिन्थली-रजबास-चारकिल्ला-तीनखुट्टे-खोलाघारी-घ्याब्रिङ-देवीटार-गोकुले र कटुञ्जे चौकीडाँडा-सिपाली- बुढाखानी-महादेवटार-तीनखुट्टे-खोलाघारी-घ्याब्रिङ-देवीटार-गोकुले गरी दुई ठाउँबाट कच्चि मोटरबाटो सञ्चालन भईसकेको छ । जसका लागि तीनखुट्टेमा मोटर चल्ने पक्कि पुल निर्माण गर्न आवश्यक भएको हुनाले त्यसको लागि प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री फुयालले छिट्टै निर्माण कार्यको लागि बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले पक्की सडक निर्माण सुरु भएसँगै महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मदत पुग्ने बताउनुभयो ।

सडक शिलान्यास कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, संविधान सभा सदस्य रामहरि सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

पक्कि सडकको शिलान्यास भएसँगै स्थानीयहरु खुशी भएको बताउँछन् । १-२ दिनको बाटो हिँडेर जिल्ला, सदरमुकाम धुलिखेल जानुपर्ने बाध्यता अब अन्त्य भएको र स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायतका वस्तुहरु सजिलै शहरमा लगेर बेच्न सकिने स्थानीयको भनाई छ ।

शिलान्यास भएको सडक २०७९ असार मसान्तसम्ममा सकिने गरी ठेक्का भएको उक्त सडकमा नाली, गयभेन वाल, कजवे, कल्भर्ट लगायत कालोपत्रे हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.