चार महिनादेखि सडक सम्पर्क बिच्छेद

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो ।

सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताउनुभयो ।

बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ । आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ ।

भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो । हाल चालू रहेको एउटा मात्रै थामडाडा-मरेक-छेपारे-मुसुङ-भकिम्ली सडकमा नियमित गाडी चल्दैन् । पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो ।

सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताउनुभयो । मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ । पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताउनुभयो । घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित भएका छन् ।

भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ । पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ ।

भकिम्लीलाई यातायात सञ्जालमा जोड्न बैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताउनुभयो । भिरालो पाखो चिरा–चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.