पीडितलाई आश्रय दिने संरचना नै अलपत्र

पर्वत- हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागि आश्रय स्थलका रुपमा पाँच बर्ष अघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ ।

सुरक्षित घर निर्माणका लागि बोलकबोल गरेको रकम उठ्न नसकेपछि दुई बर्षदेखि भवन निर्माण कार्य अघि बढ्न नसकेको हो ।

महिला तथा बालबालिकाहरु विभिन्न घटनाबाट पिडित बन्ने क्रम बढ्दै गएपछि उनीहरुलाई कानूनी उपचार दिनुपर्ने बेलासम्म अल्पकालिन समयसम्म राख्नका लागि २०७३ असारमा सुरक्षित घर निर्माण शुरु गरिएको थियो ।

भूतपूर्व प्रहरी नायव उपरिक्षक गंगा पन्तको विशेष अगुवाइमा शुरु भएको आश्रयस्थल निर्माणका लागि निर्माण थालिएको बर्ष आधारभूत काम शुरु गरिएपनि अहिले अलपत्र परेको छ ।

सुरक्षित घर निर्माणका लागि विभिन्न संघसंस्था, सरकारी कार्यालय तथा व्यक्तिबाट कब्लियत गरेको रकम हालसम्म उपलब्ध नभएकोले निर्माण कार्यमा समस्या भएको हो ।

सम्बन्धित निकायले चासो नदिएका कारण र धेरै जसो समाजका प्रभुत्व ब्यक्तिहरुबाट प्रतिवद्दता अनुसार रकम उपलब्ध नहुँदा निर्माण कार्य अलपत्र परेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यको भनाइ छ ।

तत्कालिन समयमा जिल्ला विकास समिति मार्फत बोलिएको १० लाख रुपैँया मध्ये १ लाख रुपैँया मात्र प्राप्त भएको छ भने अन्य ९ लाख रुपैँया हालसम्म पनि उपलब्ध भएको छैन ।

जिल्ला विकास समिति समेत खारेज भइसकेको समयमा जिल्ला समन्वय समितिसँग निर्माण समितिले बोलेको रकम माग्दा समेत समन्वय समितिले आलटाल गरेको निर्माण समितिको भनाइ छ ।

जिल्लाकै एकमात्र सुरक्षित घर निर्माणका लागि सरकारी जग्गा खोजी गरी करीव १ करोड ५२ लाखको लागतमा निर्माण प्रारम्भ गरिएको भएतापनि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका न्यायिक तथा अर्धन्यायिक निकायले बेवास्ता गर्दा यस्तो अवस्था भएको हो ।

अहिले सुरक्षित घर नहुँदा आफुहरुलाई ठूलो समस्या बेहोर्नु परेको पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारी बताउनुहुन्छ ।

पर्वतमा सुरक्षित घर नभएपछि विभिन्न समस्यामा रहेकाहरुलाई सुरक्षित घरमा राख्नुपर्ने महिला तथा बालबालिकाहरुलाई अहिले पोखरा, बागलुङ लगायतका जिल्लाहरुमा रहेका सुरक्षित घरमा हार गुहार गर्नुपर्ने अवस्था छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.