नर्सरी व्यवसाय- आम्दानीको बैकल्पिक बाटो
रोल्पा- सामान्यतया मानिस स्वरोजगार बन्न के गरौं भनेर धेरै पटक सोचिरहेको हुन्छ ।
यस्तो बेलामा विभिन्न जडिबुटीका विरुवा उत्पादन गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ- रोल्पाका बमबहादुर रोका ।
थबाङ गाउँपालिका–३ सिबरीका बमबहादुरले जडिबुटीका विरुवाबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ ।
रोकाले जडिबुटी अन्तरगत टिमुर, पदमचाल, सतुवा, चिराइतो, सोमायो र वन अन्तर्गत देवदार, गोब्रे सल्लालगायतका विरुवा उत्पादन गर्दै आउनुभएको छ ।
विगतदेखि नै बाउबाजेले थोरै थोरै जडिबुटी खेतीगर्दै आइरहेकोमाअहिले यो पेशालाई व्यवसायिक बनाउन गेमी बाउछोरा नर्सरी फर्म दर्ता गरेको उहाँको भनाइ छ ।
गत वर्षदेखि रोल्पा नगरपालिका-७ माडीचौरमा पनि जग्गा भाडामा लिएर रोकाले नर्सरी विस्ता गरेका छन । नर्सरी सञ्चालनबाट पनि राम्रै आम्दानी गर्न सकिने रहेछ भन्ने उहाँको अनुभवले प्रष्ट हुन्छ ।
रोजगारी छैन भन्दै विदेशीने युवाहरुकालागि बमबहादुर गतिलो उदाहरण बन्नुभएको छ । त्यसैले देशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ लाग्न उहाँले अरुलाई प्रेरणा पनि दिने गर्नुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्