स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमितहरु हिँडेको सूचना छ, ६ महिना जेल बस्नुपर्ला

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरु आइसोलेसनमा नबसी हिँडडुल गरेको जानकारी आएको भन्दै उनीहरुविरुद्ध कठोर रुपमा उत्रने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने संक्रमितलाई पक्रेर ६ महिनासम्म जेल हाल्न सकिने चेतावनी दिनुभयो । ‘पोजेटिभ आएका व्यक्ति आइसोलेसनमा नबसेको पाइएको छ, त्यस्ता व्यक्तिबारे घर परिवार छिमेकीले खबर गरिदिनु । पोजेटिभ आएको व्यक्ति आइसोलेसन नबसी बाहिर हिडेको भए संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुनेसम्म व्यवस्था छ,’ गौतमले भन्नुभयो, ‘हामीले गृह र जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिसकेका छौं । आइसोलेनमा नबस्नेलाई पक्रेर सजाय दिन्छौं ।’

मन्त्रालयले संक्रमण आशंकामा स्वाब दिएकाहरु पनि रिपोर्ट नआएसम्म घर बाहिर निस्क नमिल्ने बताएको छ । ‘रिपोर्ट नआएसम्म स्वाब दिएकाहरु क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ, टेस्ट गर्न दिने, स्वाब कलेक्सन गर्ने, रिपोर्ट नआउँदै आफ्नो काममा निस्कने गरेको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘पोजेटिभ आयो भने अरुलाई सर्न सक्छ नेगेटिभ आए पनि सजगता अपनाउनुपर्छ ।’

संक्रमण भएको शंकामा स्वाब दिएकाहरुलाई घरमै एक्लै बस्न र आफ्ना कामहरु अनलाइनबाट गर्न मन्त्रालयले सुझाव दिएको छ ।

मन्त्रालयले चाडबाडको नाममा घर बाहिर ननिस्कन, अनलाइन र फोनबाट आशिर्वाद लिन, भएकै पुरानै लुगा लगाई घरका सदस्यबीच मात्रै दसैं मनाउन पनि सचेत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.