विदेशबाट फर्किएकाहरुको रहरलाग्दो बाख्रापालन (फोटो फिचर)

म्याग्दी– व्यावसायिक पशुपालनको सम्भावना बोकेको हिमाली जिल्ला म्याग्दीका युवाहरुले अब स्वदेशमै केही गर्नुपर्छ भन्दै सामूहिक लगानी गरेरै व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेश पुगेका उनीहरुले त्यहाँ आर्जन गरेको सिप र कमाइलाई गाउँ फर्किएर लगानी गरेका हुन् ।

जिल्लाको बेनी नगरपालिका–४, सिङ्गा डाँडाखेतका पाँचजना युवाहरु मिलेर सामूहिक लगानीमा व्यावसायिक बाख्रापालनलाई अगाडि बढाएका छन् । डाँडाखेतका महेन्द्र बानियाँ, देवबहादुर जिसी, ध्रुव कुँवर, रेशम कुँवर र रामजी कुँवरले दुई करोडको लगानीमा बाख्रापालन व्यवसाय थालेका हुन् । उनीहरुमध्ये अहिले देव जिसी साउदीअरब र रेशम तथा रामजी कुँवर दक्षिण कोरियामै कार्यरत छन् ।

एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालि दर्ता गरी गएको वर्ष भदौ महिनादेखि युवाहरुले बाख्रापालन सुरु गरेका थिए । आंशिक र पूर्ण गरी कुल दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा व्यावसायिक रुपमा बाख्रा फर्म स्थापना गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामै सबैभन्दा ठूलो र फरक तरिकाले सञ्चालित फर्ममा अहिले कुल १ सय ४३ वटा बोयर तथा स्थानीय जातका बाख्राहरु पालिएको फर्मका प्रोप्राइटर महेन्द्र बानियाँले जानकारी दिनुभयो । सुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी व्यवसाय सुरु गरिएको थियो ।

सामूहिक लगानीको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत खरी, जमुनापारी, बारबारी जातका स्थानीय बाख्राहरु पालिएको छ । उक्त फर्ममा अहिले ५२ वटा पाठापाठी, ४७ वटा बोका र बाँकी माउबाख्रा छन् । फर्ममा अहिले बोयर जातका ७ वटा बोकालाई बिऊँ पुँजीको रुपमा राखिएको छ । अहिलेसम्म फर्मबाट करिब २५ वटा बोका तथा खसी बिक्री गरिएको छ भने प्रतिकेजी जिउँदो बाख्राको मूल्य पाँचसय रुपैयाँ तोकिएको छ । गत तीज पर्वमा मात्रै ६ वटा बोका र खसी बिक्री गरिएकोमा नजिकिँदै गरेको दशैंका लागि १३ ओटा खसी–बोका बिक्री गर्ने तयारी गरिएको फर्मका सञ्चालक समेत रहनुभएका महेन्द्र बानियाँले बताउनुभयो ।

व्यावसायिक रुपमा सञ्चालित बाख्रापालनका लागि जग्गा खरिदमा एक करोड र बाख्रा खरिद तथा संरचना निर्माण गर्न एक करोड रुपैयाँ लगानी भएको फर्मका अर्का सञ्चालक ध्रुब कुँबरले जानकारी दिनुभयो । त्यस्तै फर्ममा पालिएका बाख्रालाई घाँस खुवाउनका लागि चारवटा साइलेज (घाँस राख्ने खाडल) निर्माण गरिएको छ । उक्त साइलेजमा वर्षातको समयमा काटेको घाँस नुन छर्किएर हावा नजाने गरी राख्ने र जाडो याममा बाख्रालाई खुवाउने तयारी छ । यसरी खाडलमा राखिएको घाँस ४५ दिनपछि डेढ वर्षसम्म खुवाउन मिल्ने युवाहरु बताउँछन् ।

डाँडाखेतका युवाहरुले सुरु गरेको बाख्रापालन व्यवसायका लागि १० रोपनी जग्गा बन्धकीसहित ८० रोपनी जग्गा खरिद गरी ५ रोपनीमा संरचना मात्रै निर्माण गरिएको छ भने बाँकी जग्गामा घाँस खेती लगाइएको छ । बाख्रालाई घाँस खुवाउन वर्षेघाँसअन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपिएको छ । यसैगरी डाले घाँसतर्फ कोईरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकाइनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस खेती लगाइएको फर्मले जनाएको छ ।

स्वदेशमै केही गर्ने योजनासहित स्थापना गरिएको एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालिले दुईजना महिलालाई रोजगारीको अवसर समेत दिलाएको छ । अहिले फर्ममा बाख्रालाई घाँसपात काट्ने, दानापानी खुवाउने र सरसफाइलगायत काम गर्नका लागि उनीहरुलाई रोजगारी दिइएको हो । गाउँमै रोजगारीको अवसर पाएपछि उनीहरु धेरै खुसी भएका छन्भने फर्मले मासिक रुपमा दश÷दश हजार रुपैयाँ तलबभत्ता दिने व्यवस्था गरेको छ । आगामी दिनमा व्यवसायको क्षमता विस्तार गरी थप रोजगारी समेत सिर्जना गर्ने युवाहरुको योजना छ ।

व्यावसायिक बाख्रापालनका लागि युवाहरुले राष्ट्रिय वाणिज्य बैंकको म्याग्दी शाखामार्फत २२ लाख रुपैयाँ ऋण स्वीकृत भएकोमा १० लाख रुपैयाँ लगेर लगानी गरेका छन् । यसैगरी बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा युवा तथा व्यावसायिक कृषकहरुलाई अनुदान, बिऊँपुँजी, कृषि औजार सहयोग तथा तालिम गोष्ठीका लागि कृषितर्फ ६० लाखभन्दा बढी र पशुतर्फ २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।

एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालिले उत्पादन गर्नसके बाख्रा, पाठापाठी तथा खसी–बोका बिक्री वितरणका लागि बजारको समस्या नभएको जनाएको छ । फर्मबाटै बाख्रा बिक्री हुने बताउँदै फर्मका अर्का सञ्चालक ध्रुब कुँबरले डाँडाखेत गाउँ, म्याग्दी सदरमुकाम बेनीबजार र तातोपानी बजारमा बिक्री हुँदै आएको बताउनुभयो । उहाँले गाउँमै पुजाआजाका लागि पनि खसी, बोका सजिलै बिक्री हुनेहुँदा उत्पादन गर्न सकेको खण्डमा बजारीकरणका लागि समस्या नभएको अनुभव सुनाउनुभयो । बाख्रा, खसी तथा बोका चाहियो भन्दै व्यापारीहरु फर्ममै पुग्छन् ।

व्यवसायिक रुपमा सुरु गरिएको बाख्रापालन फर्ममा आगामी दिनमा झण्डै ५ सयवटा बाख्रा पुर्‍याउने लक्ष्य राखिएको छ । बाख्रा फर्म सञ्चालन गरेका युवाहरुमध्ये अहिले तीनजना रोजगारको सिलसिलामा विदेशमै छन् । उनीहरु फर्किएपछि म्याग्दी सदरमुकाम बेनीमा आफ्नै एकएक वटा फ्रेस हाउस र डेरी पसल सञ्चालन गर्ने तयारी रहेको युवाहरु बताउँछन् । यसका साथै निकट भविष्यमै व्यावसायिक भैंसीपालन, माछापालन, मौरीपालन तथा रिसोर्ट समेत सञ्चालनमा ल्याउने योजना समेत बनाइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.