लुम्बिनीको नयाँ राजधानीको योजना बनाउँदै मुख्यमन्त्री पोखरेल
प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लागत यसै महिनाभित्र पठाउन निर्देशन
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लागत यसै महिनाभित्र पठाउन निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका नगरपालिका तथा गाउँपालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री पोखरेलले जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने बताउनुभयो ।
उहाँले सरकारी, वन क्षेत्रको तर वन नभएको र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउन निर्देशन दिनुभएको हो । सरकारी जग्गा अतिक्रमण गरी बस्ती बस्न सक्ने भएकोले चनाखो भई नियन्त्रण गर्न उहाँले जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले पालिका प्रमुखहरुलाई पालिकाले बजार क्षेत्र, कृषि क्षेत्र जस्ता विषय खुलाएर सुझाव पठाउन पनि आग्रह गर्नुभयो । त्यसो गर्दा गुरुयोजना बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । मुख्यमन्त्रीले राप्ती उपत्यका नयाँ नाम दिइएको र उपत्यका भित्र गढवा, राप्ती र शितगंगा पालिकाको मैदानी भाग पर्ने भएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले अहिले जग्गाको व्यवस्थापन मात्रै गर्न र अरु प्लानिङ हुँदै जाने बताउनु भयो ।
छलफलमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले राप्ती उपत्यका भित्रको जग्गाको अवस्था एकहप्ताभित्र आउने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्