प्राकृतिक चिकित्सालयबाट १११ जना कोरोना संक्रमित निको भएर घर फर्किए

चितवन- भरतपुर महानगरपालिका वडा नम्बर-१ को बागिश्वरीमा रहेको योगी नरहनीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालित कोभिड-१९ आइसोलेसन केन्द्रबाट १११ जना निको भएर घर फर्किएका छन् ।
केन्द्रबाट सफल उपचारपछि कोरोना मुक्त भएर घर फर्किनेको संख्या एक सय कटेको भन्दै विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा हेमराज कोइरालाले अस्पतालमा बिरामीहरुलाई आहार बिहारसँगै योग थेरापीबाट उपचार गरिदै आएको जानकारी दिनुभयो । कोभिड १९ आइसोलेसन केन्द्रमा हालसम्म १७० जना भर्ना भएकामा ५९ जना उपचाररत् रहेका कोइरालाको भनाइ छ ।
७५ श्यया क्षमताको आइसोलेसन केन्द्रको क्षमता १०० पुर्याउनेगरी काम भइरहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका संयोजक कमल मल्लले जानकारी दिनुभयो ।
केन्द्रबाट कोरोनामुक्त भएका व्यक्तिहरुलाई फलफूलको बिरुवा समेत वितरण गरिएको थियो । प्रकृतिसँग रम्नुपर्छ भन्ने मान्यता राखेर उनीहरुलाई फलफूलको विरुवा वितरण गरिएको मल्लले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि भरतपुरको कोभिड १९ आइसोलेसन केन्द्रलाई एक करोड रुपैयाँ उपलब्ध गराएको जानकारी दिनुभयो ।-






प्रतिक्रिया राख्नुहोस्