सप्तरीमा प्रदेश सभा सदस्यसहित २७ सङ्क्रमित

सप्तरी- सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गर्नुभएको छ ।

कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष सङ्क्रमित हुनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिन अघि सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४०१ जना कोरोना सङ्क्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन् । मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.