मुस्ताङको पर्यटकीयस्थल ‘यारुजो डाँडा’को आकर्षण

मुस्ताङ- हिमालपारीको जिल्ला मुस्ताङ भन्ने बित्तिकै जो कोहीलाई पनि एकपटक पुगेर घुमौं न भन्ने लागिहाल्छ ।

मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् ।

मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु रहेका छन् । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरु, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरु छन् ।

हिमाली जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै जान थालेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँदेखि माथि यारुजो डाँडा पर्दछ । जुन अहिले पर्यटकीय क्षेत्र बनेको हो । ‘या’ भनेको याक, ‘रु’ भन्नाले याकको सिङ र ‘जो’ भनेको डाँडा अर्थात् याकको सिङ जस्तो देखिने भएकाले यस डाँडालाई यारुजो नामाकरण गरिएको स्थानीयवासिन्दाले बताएका छन् ।

समुन्द्री सतहदेखि ३ हजार ७ सय ५० मिटरको उचाइमा अवस्थित यारुजो डाँडाबाट पवित्र कालीगण्डकी नदी र वरिपरीको वस्तीहरु निकै रोमाञ्चक देखिन्छन् । यारुजो डाँडाको भ्यु–टावरमा चढेर हेर्दा निलगिरी, धौलागिरी, मानापाथी, टुकुचे, डोल्पाको हिमाललगायत अन्नपूर्ण हिमश्रृङ्खलाका साथै १ दर्जन बढी हिमालहरु प्रत्यक्ष हेर्न सकिने मुस्ताङका पत्रकार निरज थकाली बताउनुहुन्छ ।

यारुजो डाँडा पछिल्लोपटक मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाइमा पर्दै जान थालेको छ । यारुजो डाँडाबाट मुस्ताङको सदरमुकाम जोमसोम बजारसहितका बस्ती स्पष्टसँग देखिन्छ ।

यसैगरी मुस्ताङको जोमसोम विमानस्थल तथा विमान अवतरण गरेको र उडान भरेको पनि यारुजो डाँडाबाट प्रत्यक्ष हेर्न पाइन्छ । त्यस्तै मार्फा, पाक्लिङ, फ्ल्याक, स्याङ, समलेक, कागबेनी, कोरला रेन्ज, उपल्लो मुस्ताङको केही भाग र तिब्बतीयन प्लेट टु समेत देख्न सकिन्छ ।

यारुजो डाँडाको भ्रमणमा जाने विदेशी पर्यटकले यसलाई ‘गेट अफ हेभन’ अर्थात् ‘स्वर्ग जाने बाटो’ भन्ने गरेको पत्रकार थकालीको भनाइ छ । यारुजो डाँडा आसपासको वनजङ्गलका क्षेत्रमा लोपोन्मुख वन्यजन्तु जनावरहरु भेटिने गरेका छन् । राष्ट्रिय पंक्षी डाँफे, हिउँचितुवा, कस्तुरी, मृग, नाउरलगायत जनावरहरु यस क्षेत्रमा पाइन्छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५, नम्बर वडामा पर्ने ठिनी गाउँमा थकाली समुदायको बाहुल्यता रहेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटरको दुरीमा रहेको ठिनी गाउँको १ सय १० घरधुरीमध्ये अहिले १२ वटा घरमा होमस्टेको व्यवस्था गरिएको छ ।

होमस्टेमा पुग्ने पर्यटकलाई ठिनी गाउँवासीले घ्युको टिका लगाई धुपीको फुल दिएर स्वागत गर्ने गर्दछन् । साँझमा ठिनीवासीले पर्यटकलाई थकाली नृत्य देखाउँछन् ।

ठिनी गाउँ भ्रमण गर्न र होमस्टेमा बास बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फापरको ढिँडो, पिठो, रोटीलगायत अर्गानिक खाना खुवाउने गरिएको होमस्टे सञ्चालक संगीता थकालीले जानकारी दिनुभयो ।

साँझ ठिनी गाउँमा बास बसेका पर्यटकहरु बिहान सबेरै उठेर यारुजो डाँडा र ढुम्बातालको अवलोकन गर्न जाने गर्दछन् ।

तर यसवर्ष कोभिड–१९ का कारणले गर्दा यारुजो डाँडामा पर्यटकहरु पुग्न सकेका छैनन् ।

यारुजो डाँडा अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको सहयोगमा १० लाख रुपैयाँको लागतमा भ्यु–टावर बनाइएको छ ।

यो भ्यु–टावरमा एक पटकमा बढीमा ५ जना मात्रै पर्यटकहरु चढेर हेर्न मिल्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.