लमही-कोइलाबास सडक निर्माणको काम सम्पन्न (भिडियोसहित)

दाङ- हुलाकी मार्ग अन्तर्गत दाङको लमही कोइलाबास सडक निर्माणको काम लगभग सकिएको छ । ३३ किलोमिटर लम्बाईको यो सडकमा, सडक क्षेत्र चौडा पारी कालोपत्रे गर्ने काम सकिएको हो ।

लमही चोकलाई जिरो प्वाइन्ट मानी कोइलाबासको नेपाल-भारत गेटसम्म नेपाल तर्फको सडक कालोपत्रे भैसकेको निर्माण कम्पनीले जनाएको छ ।

७६ करोड रुपैयाँको लागतमा तीस महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएपनि पहिलो छ महिना काम गर्न नपाएको कालिका कुमार जेभीले लामो समयसम्म गढवा बजार र लमहीको बजारको सडक क्षेत्रमा विवाद हुँदा काम गर्न समस्या परेको जनाएको छ ।

त्यसो त यो सडकको चुरे पहाड क्षेत्रमा पनि काम गर्न त्यती सहज भने थिएन । कान्छो पहाड भएकाले सडक खन्दा माथिबाट माटो झर्ने समस्या लामै समयसम्म रह्यो । यसपटक लामो समय सम्म पानी परिरहेका कारण पनि काम गर्न अप्ठेरो भएको निर्माण कम्पनीले जनाएको छ ।

अहिले कालोपत्रे गरिएको चुरे क्षेत्रमा बर्षाले बगाएको माटोले भरिएका नाली सफा गर्ने काम भैरहेको छ । निर्धारित समय अगाडी नै काम सम्पन्न गरि सडक हस्तान्तरण गर्ने योजना भएपनि पुरै समय काम गर्न नपाइएकाले केहि ढिलाइ भएको निर्माण कम्पनीका इञ्चार्ज राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

सडक निर्माण भएपछि अहिले गढवाबाट कोइलाबास २० मिनेटमै पुग्न सकिने भएको कोइलाबासका स्थानीयहरु बताउँछन । वर्षौंसम्म खण्डहर बनेको कोइलाबास बजार राम्रो सडक सञ्जालसँग जोडिएपछि पहिलेकै अबस्थामा फकर्ने सम्भावना बढेको स्थानीयको भनाइ छ ।

कोइलाबास मात्र नभई यो हुलाकी सडकले गढवा बजारकै रुप पनि फेरिएको छ । चौडा सडक, अलग्गै फुटपाथ, सडकमा रेलिङ यी दृश्य अहिले गढवा बासीका लागि नौलो बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.