कोरोना संक्रमणः घरमा पनि अपनाउनुपर्छ सावधानी

काठमाडौं– कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला घरको एक सदस्यलाई मात्र संक्रमण भए पनि परिवारमै संक्रमण फैलिने जोखिम हुन्छ । काठमाडौं उपत्यकाभित्र कतिपय घर परिवारका सम्पूर्ण सदस्य नै संक्रमित भएको पाइएको छ ।

काठमाडौं उपत्यकामा कतिपय घरका सम्पूर्ण सदस्यमै कोरोना संक्रमण भएको पाइएको छ । घरबाहिर गइरहने कुनै एक सदस्यलाई संक्रमण भएपछि सावधानी अपनाउन नसक्दा वा ढिला हुँदा परिवारमै संक्रमण फैलिने गरेको पाइएको हो । एक सदस्यलाई संक्रमण भएमा परिवारमै संक्रमण सर्ने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् । विशेष गरी घरबाहिर निस्कने सदस्यले घरमा सावधानी नअपनाएका कारण अन्य व्यक्तिमा पनि संक्रमण सर्ने गरेको हो ।

कोरोना केही होइन भन्ने गलत बुझाइका कारण पनि परिवार नै संक्रमणको जोखिममा पर्ने गरेको छ । कतिपय व्यक्तिको मानसिकता साथी भाई र आफन्तबाट कोरोना सर्दैन भन्ने रहने गरेको छ । व्यक्तिको मानसिकता र व्यवहारका कारण घर नै संक्रमणको स्रोत बन्ने गरेको पाइन्छ । घरका कोही संक्रमित भएको छ भने उसले पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरे परिवारका अन्य व्यक्तिलाई संक्रमण सर्न सक्दैन ।

कोरोनाका संक्रमणबाट बच्न घरभित्रै पनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ । मापदण्डको पालनामा गरिएको लापरबाहीले संक्रमण बढेको विज्ञहरु बताउँछन् । लक्षण नदेखिएका संक्रमितबाट पनि कोरोना सर्ने भएकाले घरबाट पटकपटक बाहिर गइरहने व्यक्ति सधैं सचेत हुनुपर्छ । घरभित्रै रहँदा पनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ ।

चाडबाडको बेला घरभित्रैबाट संक्रमण फैलिने जोखिम झनै बढ्छ । अझ दशैंका बेला टीका लगाउने, भोज खाने जस्ता चलन रहँदै आएको छ । तर अहिले जोखिम उच्च भएका बेला यस्ता गतिविधिमा सावधानी नअपनाएर घरभित्रै डरलाग्दो अवस्था आउने तर्फ सचेत हुन विज्ञहरुको सुझाव छ । कुनै व्यक्तिलाई संक्रमणका गम्भीर लक्षण देखिन थालेमा तत्काल अस्पताल जान जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् ।

परिवारका कुनै सदस्यलाई कोरोना संक्रमणको शंका लागेमा तत्काल आइसोलेसनमा बस्नुपर्छ । लक्षण नदेखिए पनि आफूलाई शंका लागेमा केही दिन आइसोलेसनमा बस्न सके परिवारलाई नै संक्रमणबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.