लाखौंको लगानीमा बनेको भवन अलपत्र

रोल्पा- रोल्पाको परिवर्तन गाउँपालिका–३ केवरीमा निर्माण गरिएको तत्कालिन गाविस भवन अहिले अलपत्र परेको छ ।
तत्कालिन जिल्ला विकास समिति रोल्पाले निर्माण गरेको इरिबाङ गाविस भवन स्थानीय तह पुनः संरचनाका क्रममा गाविस टुक्रिएर वडा कार्यालय केवरीबाट थुनिकोटमा सरेपछि नयाँ भवन एक पटक पनि प्रयोगमा नआई अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा ३० लाख ६५ हजार लगानीमा निर्माण भएको भवन अहिले स्थानीय तह पुनः संरचनाका क्रममा उक्त गाविसको वडा कार्यालय अन्यत्र सरेपछि भवन अलपत्र परेको हो ।

साबिकको इरिबाङ गाविसका लागि निर्माण भएको भवन निर्माण भए लगत्तै देश संघीय संरचनामा गएको थियो ।

स्थानीय तह पुनः संरचनाका क्रममा इरिबाङ गाविसलाई दुई वटा वडामा विभाजन गरिएको थियो । वडा विभाजनका क्रममा उक्त वडा कार्यालय साविकको केवरीबाट थुनिकोटमा सरेपछि नयाँ भवन प्रयोगमा आउन नसकेको परिवर्तन गाउँपालिका–३ का वडा सदस्य विनोद घर्तीले बताउनुभयो ।

राज्यको लाखौं लगानी रहेको भौतिक संरचना त्यत्तिकै अलपत्र परेको भएतापनि स्थानीय सरकारले भने यसको प्रयोगका बारेमा कुनै चासो देखाएको छैन ।

नयाँ भवन प्रयोगमा नआउँदा संरक्षणको अभावमा भवन जीर्ण बन्न थालेको छ ।

भवनलाई स्थानीय आमा समूह, वन समूह वा युवाक्लबहरुलाई संरक्षणको जिम्मा दिएमा यसको प्रयोगसँगै संरक्षणको जिम्मा लिन सकिने स्थानीय मोहनलाल बुढाको भनाइ छ ।

राज्य पुनः संरचनाका क्रममा नयाँ नयाँ ठाउँमा केन्द्र र वडा कार्यालय स्थापना गर्दा लाखौं खर्च हुने गरेको छ भने अर्काेतर्फ यस्ता लाखौं रकम लगानी भएका संरचनाहरु प्रयोगमाआउन सकेका छैनन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.