त्रिशुलीमाथिको पुल- ३ बर्षमा १० प्रतिशत मात्र काम

धादिङ- पृथ्वी राजमार्गलाई शिद्धलेक गाउँपालिकाको अरवासटार जोड्न बन्न लागेको त्रिशुली नदी माथिको पक्की पुलको काम तीन बर्षमा १० प्रतिशत मात्र सकिएको छ ।

तीन वर्ष अघिदेखि निर्माणको काम सुरु गरिएको यो पुलको एउटा पिल्लर मात्र गाडिएको छ ।

पुल निर्माण सम्पन्न हुन अझै तीन वर्षभन्दा धेरै समय लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

पुल नहुँदा अरवासटार लगायतका क्षेत्रका स्थानीयहरुलाई आवत जावतमा निकै समस्या परेको छ ।

मोटरएवल बाटो गाउँका सबै स्थानमा पुगेको तर त्रिशुली नदी तर्नका लागि पक्की पुल नभएकाले गर्दा झोलुङ्गे पुलबाट मोटर साइकल तार्नुपर्ने बाध्यता यहाँका स्थानीयहरुलाई छ ।

राजमार्गलाई सिधै गाउँसँग  जोड्नका लागि निर्माण सुरु गरिएको यो पुल समयमा नबन्दा स्थानीयलाई आवत जावत र सामान ओसास पसारमा समस्या आएको छ ।

पुल नहुँँदा त्यस क्षेत्रका स्थानीयहरुले खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरु ढुवानीमा निकै समस्या भोग्नु परेको छ ।

शिद्धलेक गाउँपालिकाको तल्लो वेसी क्षेत्रका स्थानीयहरुलाई त्रिशुली नदीमाथि सो पुल निर्माण सम्पन्न भए सदरमुकाम लगाएत पृथ्वी राजमार्गसम्म आवत जावतका लागि निकै सहज हुने थियो ।

यसैगरी, सो क्षेत्रमा उत्पादित  कृषिजन्य उत्पादन विक्रिका लागि बजारसम्म ल्याउन समेत यो पुलको सहायता जरुरी भएको स्थानीय बताउँछन ।

निर्माण सुरु गरेको ३६ महिनामा सम्पन्न गर्नुपर्ने गरी नेपाल सरकारसँग निलगिरी निर्माण सेवाले १८ करोड रुपैयामा यो पुल बनाउने  जिम्मा लिएको हो ।

एक सय ३८ मिटर लम्वाईको यो पुल निर्माणको जिम्मा पाएको निलगिरी निर्माण सेवाले भने कोरोनाको संक्रमणका कारण काममा ढिलाइ भएको दावी गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.