कोरोनाकालमा सार्वजनिक यातायात चढ्दा कस्तो ध्यान पुर्‍याउने ?

काठमाडौं– सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सरकारले आग्रह गर्दै आएको छ । सार्वजनिक यातायातमा यात्रा गर्दा कस्तो सावधानी अपनाउनुपर्छ त ?

वर्षमा एक पटक आउने बडा दसैंलाई हर्षोल्लासका साथ मनाउने रहर सबैलाई हुन्छ । यही कारण आफ्नो जन्मथलोबाट टाढाटाढा पुगेकाहरु दसैं मनाउन घर फर्किने गर्दछन् । तर यस वर्षको दशैं विगतको जस्तो छैन । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले यस वर्ष जो जहाँ छ त्यहिँ बसेर दसैं मनाउनुपर्ने अवस्था छ । त्यति हुँदाहुँदै पनि कतिपयलाई यात्रा नगरी नहुने वाध्यता छ । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ ।

जनस्वास्थ्य विज्ञका अनुसार संक्रमण फैलिन सक्ने प्रमुख माध्यम भनेको सार्वजनिक यातायात पनि हो । कोरोनाको समयमा पहिलेको जस्तो भिडभाडमा यात्रा गर्नुहुँदैन । भीडभाडमा यात्रा गर्दा संक्रमण छिटो र धेरै ठाउँमा फैलिने सम्भावना हुन्छ । यात्रा गर्नुपर्ने अवस्था आएमा अनिवार्य रुपमा मास्क र भाइजर लगाउनुपर्छ । यात्रुहरुले आफूसँग पनि स्यानिटाइजर बोक्ने र गाडी चढेपछि र ओर्लिएपछि स्यानिटाइजरले हात सफा गर्ने गर्नुपर्दछ । गाडी चढ्दा लाइन लागेर मात्र चढ्नुपर्छ भने सकेसम्म खुद्रा पैसाको व्यवस्था आफैं गरेर दिँदा सजिलो र जोखिमरहित हुन्छ । यात्राका क्रममा के गर्ने वा नगर्ने भन्ने विषयमा यातायात सञ्चालन निर्देशिका नै जारी गरिएको छ ।

चालक तथा सहचालकले पनि यात्रुलाई दुरी कायम गरेर बस्न लगाउनुपर्छ । गाडीमा चढ्दा ढोकाछेउमा सेनिटाइजर उपलब्ध गराउनु राम्रो हुन्छ । चालक तथा सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर तथा पञ्जा लगाउनुपर्छ ।

यात्रुलाई स्वास्थ्य मापदण्डको पालना गराउन खोजिए पनि कतिपयले त्यसको अवज्ञा गर्ने गरेको चालकहरुको भनाइ छ ।

सार्वजनिक यातायातमा जोसुकै व्यक्ति पनि चढ्न सक्छन् । यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमण उच्च हुने भएकाले सावधानी अपनाउनुपर्छ । स्वास्थ्य मापदण्डको पालना भए÷नभएको विषयमा यातायात व्यवस्था विभाग, सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट अनुगमन हुने गरेको छ ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ, त्यही नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । कोरोना महामारीका बेला यात्रा गर्दा जोखिम उच्च हुने भएकाले जो जहाँ छ, त्यहीँ दसैं मनाउँदा जोखिम कम गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.