गण्डकी र लुम्बिनी प्रदेशमा गरी थप ४ जनाको मृत्यु

काठमाडौं- गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका वडा नं २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलाइ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान ५.१५ बजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाले मंगलबार नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.