मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत : कँडेल समूहका १४ जनाद्वारा बहिष्कार

सुर्खेत– नेकपा संसदीय दल एवम् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार प्रदेश सभामा बसेको कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

प्रकाश ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराउनु भएको थियो । ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको प्रमुख सचेतक सीता नेपालीले जानकारी दिनुभयो । उहाँले दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको बताउनुभयो ।

गत असोज २५ गते नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि नौ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सभामुखबाहेक नेकपाका ३२ सदस्य छन् ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने दलको बैठकमा उपसभामुख पुष्पा घर्ती तथा मन्त्रीद्वय दल रावल र नन्दसिं बुढा अनुपस्थित हुनुहुन्थ्यो । घर्ती पूर्वमाओवादी खेमा र मन्त्रीद्वय पूर्वएमालेका प्रधानमन्त्री ओली नजीकका मानिनुहुन्छ । त्यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कँडेलसहित १४ सदस्य पनि अनुपस्थित थिए ।

कँडेल समूहले आजको बैठकलाई अवैधानिक बताउँदै बहिष्कार गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.