संकटमा गन्धर्वको पेशा

लमजुङ- गन्धर्व समुदायले परम्परागतदेखि पेशाको रुपमा अँगाल्दै आएको सारङ्गी बजाउने पेशा अहिले संकटमा पर्न थालेको छ ।

सञ्चारको सुविधासँगै घरघरमा टेलिभिजन,रेडियो र गितसंगीतका नयाँ माध्यमहरुको पहुँच पुगेपछि गन्धर्वहरुको सारङ्गीको धुन र गीत सुन्ने श्रोता पनि कम हुँदै गएका छन् ।

गाउँघरमा कुनै बेला विरहका गितसंगीत अनि समाजमा घटेका घटनाहरुलाई समाचारको रुपमा सुनाउँदै हिड्ने गन्धर्वहरु अहिले कमै मात्रामा भेटिन्छन् ।

आँफुलाई परम्परागत पत्रकार दाबी गर्ने गन्दर्भहरु सञ्चार क्षेत्रमा प्रविधिको विकाससँगै रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालको कारण अहिले यो पेशा संकटमा पर्दै गएको स्वीकार्छन ।

पुर्खाले निरन्तरता दिँदै आएको पेशालाई सामाजिक हेय सहँदै भएपनि निरन्तरता दिएको राइनास–८ का ज्ञानेन्द्र गन्धर्वको भनाइ छ ।

आजकाल पढेलेखेका गन्धर्वहरु भने यो पेशाप्रति आकर्षित छैनन् । पढ्न नसकेकाहरु यो पेशालाई चटक्कै छोड्न पनि सक्दैनन ।

बाउबाजेदेखिको परम्परागत पेशा थाम्न र आर्थिक अभावकै कारण पढाइमा निरन्तरता दिन नसकेपछि पुर्खाको पेशा अँगाल्न बाध्य भएको राइनासकै अर्का स्थानीय विक्रम गन्धर्वको भनाइ छ ।

सारङ्गी रेटेर गित गाउँदै मेचीदेखि महाकालीसम्म डुल्दै जिविकोपार्जन गर्ने उनीहरुको अनुभव चाहिँ रमाइला छन ।

दैनिक पाँचसयदेखि एकहजारसम्म नगद बाहेक चामल, तरकारी आम्दानी गरेर उनीहरुले परिवार धान्दै आएका छन । सारङ्गी रेटेर गित गाउँदै गरेको कमाइले परिवारलाई पालेको सुन्दरवजारका चित्रबहादुर गन्धर्व सुनाउँछन् ।

गन्धर्व समुदायले परम्परादेखि नै गाउँदै आएको कर्खगाथा, मालश्री, आरती, स्तुती, कृष्ण जन्म अबतार, रामायण, गृगुण लगायतका मुख्य भाकाहरु यो पेशा संकटमा परेसँगै हराउन थालेका छन् ।

जुनसुकै समुदाय अथवा जातिको नै किन नहोस् संस्कृती आफैंमा राष्ट्रको महत्वपुर्ण सम्पत्ती हो । यसकारण लोप हुने अबस्थामा पुगेको सम्पत्तीको संरक्षण गर्नु राज्यको दायित्व  भएको उनीहरुको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.