पोषिलो खाद्यान्न कोदो खेती हराउँदै

म्याग्दी- हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ ।

कोदो फल्ने बारी थलिएको छ । बनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले बताउनुभयो ।

करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो !” ८३ वर्षीय शर्माले भन्नुभयो ।

उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकको भनाइ छ ।

बेनी नगरपालिका–३ तोराखेतका देववहादुर सापकोटाको घरमा पनि काम गर्ने मान्छे छैनन् । उहाँको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन् । छोरा विदेश गएका छन् भने बुहारीले घरमा नै पसल गरेकी छन् । वर्षौ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उहाँले बताउनुभयो । “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?”, उहाँले सम्झिनुभयो, “म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।”

अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ । औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको मालिका गाउँपालिका ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताउनुभयो । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ ।

कोदोको उत्पादन घटेसंगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाको भनाइ छ ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतिकी सञ्चालिका विमला गौचनले बताउनुभयो ।

त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको बताउनुभयो ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरेले बताउनुभयो ।

तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ ।

म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.