सुख्खा पहिरो नहटाउँदा आवत–जावत ठप्प

डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै खसेको भिषण सुख्खा पहिरो अझै हटाइएको छैन । यो सुख्खा पहिरो गएर बाटो बन्द भएको तीन दिन भइसक्यो ।

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी खण्डमा सुख्खा पहिरो खसेको थियो ।

करिब दुई सय मिटर माथिबाट खसेको पहिरोको कारण ५० मिटर सडक पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्लामा मानिस आवागमन गर्नेदेखि सबै प्रकारका दैनिक उपभोग्य सामाग्रीहरु सस्तोमा ढुवानी गर्न सजिलो एवं भरपर्दो सडक नखुल्दा प्राकृतिक नाकाबन्दी जस्तै भएको खदाङ्गका स्थानीयको भनाइ छ ।

सुख्खा पहिरोका कारण रुकुम(पश्चिम)बाट जिल्ला भित्रने सबै प्रकारका सवारी साधन तथा मानिस आवत–जावत पुर्णरुपमा ठप्प भएको स्थानीय मोतिप्रसाद उपाध्यायले बताउनुभयो ।

अत्यावश्यक कामले जिल्ला छोड्न लागेका मानिसहरु ज्याननै जोखिममा पारेर पहिरोबाटै आवत जावत गर्न बाध्य भएको उपाध्यायको भनाइ छ ।

पहिरोका कारण सवारी साधन ठप्प भएपछि सामान ओसार पसार गरेर दैनिक गुजारा चलाउने मजदुरुहरु समेत मारमा परेका छन् ।

सडक नखुल्दा दैनिक उपभोग्य बस्तु तथा यात्रु बोकेर खदाङ्गका लागि हिँडेका जीप, ट्रयाक्टर लगायतका सवारी साधनहरु बिच बाटोमै अलपत्र परेका छन् ।

अहिले पनि निरन्तर रुपमा पहिरो खसिरहेकाले दुबैतिरबाट डोजर लगाएर पनि सजिलै पहिरो हटाउन सक्ने अवस्था नरहेको वडा नं ६ का वडा सदस्य अमृत सार्कीले जानकारी दिनुभयो ।

पहिरो हटाउनका लागि भन्दै बुधवार बेलुकी नै आफ्नो डोजर पठाइसकेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.