शुरु हुन सकेन चुहानडाँडा हवाई मैदानको काम
पाँचथर- पूर्वी पहाडी जिल्लाको दुर्गम भेगमा बसोबास गर्ने नागरिकलाई सेवा सुबिधा पुर्याउने उदेश्यले शुरु गरिएको चुहानडाँडा हवाइ मैदान निर्माणको काम सुस्ताएको छ ।
पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाबासीका लागि छिटो आवतजावत गर्न तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-६ चुहान डाँडामा निर्माण हुन लागेको हवाइ मैदान निर्माण सुचारु नहुँदा अब हवाई मैदान बन्दैन कि भन्ने चिन्तन स्थानीयमा पर्न थालेको छ ।
एक करोड रुपयाँ खर्च गरी हवाई मैदान निर्माणको डिटेल सर्बेको काम भइसकेको थियो । हवाई मैदान बन्न ८२ करोड रुपैँया लाग्ने निर्माण समितिले जनाएको छ ।
गाउँघरमै हवाई मैदान बन्ला भन्ने आशामा स्थानीयबासीले ३ सय ५०रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए । तीन बर्षमा हवाइ मैदान बनाइसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला र गाउँपालिकासमेत रहेकोले पनि यो स्थानमा चाँडै हवाइ मैदान बन्ला भन्ने आशा लाग्नु स्थानीयका लागि अस्वभाविक थिएन ।
त्यसमा पनि पटक पटक पर्यटन मन्त्रीहरु आएर यहाँको स्थलगत भ्रमण गर्ने गरेका र हवाई मैदान बनाउने आश्वासन पनि दिएका थिए । त्यसैले स्थानीय बढी आशाबादी बने । तर उनीहरुको आशामा कतै तुषारापात हुने त होइन भन्ने आशंका उव्जिन थालेको छ ।
अहिलेसम्म कामले गति लिन नसक्दा बन्ने नबन्ने दुविधा सिर्जना भएको प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाको भनाइ छ ।
२९ बर्षपछि यहाँको हवई मैदानको वातावरणीय अध्ययन र जग्गा प्राप्तीको काम हुन थालेको थियो । यहाँ २०१७ सालमा नै हवाई मैदान बनाउने अभियान सुरु गरिएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्