मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था छैनः प्रधानमन्त्री (भिडियो)

महासचिव पौडेल भन्नुहुन्छ– पार्टीको आन्तरिक जीवन अन्तरविरोधग्रस्त

काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाट कोभिडले उब्जाएको परिस्थितिका कारण केही पातलो भएको प्रतिक्रिया दिनुभएको छ ।

 

 

पार्टीभित्र अन्तरविरोध देखिएको भन्दै सञ्चार माध्यममा आएका समाचारबारे नेपाल टेलिभिजनले राखेको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री ओलीले बाहिर मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी ठीक ढङ्गबाट अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा अन्तरविरोध र असमझदारीको अवस्था उत्पन्न भन्दै पार्टी महासचिव विष्णु पौडेलले चिन्ता व्यक्त गर्नु भएको छ । साथै पार्टीको आन्तरिक जीवन अन्तरविरोधग्रस्त भएको बताउँदै महासचिव पौडेलले मुलुक र जनाताका लागि पार्टी एकताको रक्षाका लागि सहमतिका साथ निर्णयमा पुग्न पनि पार्टी अध्यक्षद्वयलाई आग्रह गर्नु भएको छ ।

महासचिव पौडेलले भनेजस्तै नेकपाभित्र देखिएको अन्तरविरोध यतिबेला फेरि उत्कर्षमा पुगेको कतिपयको विश्लेषण छ । यस अघि पनि पार्टीमा विवाद र असमझदारी बढेपछि पार्टी स्थायी कमिटीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णयसँगै सहमति कायम भएको थियो । कार्यदलको प्रतिवेदनलाई आधार मान्दै सहमतिको प्रस्ताव तयार पार्न गत भदौ १८ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मा दिएको थियो । यसबीचमा पार्टीभित्र फेरि असन्तुष्टि र असमझदारी बढ्दै गएको छ ।

एकता महाधिवेशनको तयारीका लागि छलफल गर्न भन्दै कार्तिक १५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पनि स्थगित गरी मंसिरमा गर्ने गरी तय गरीएको छ भने पार्टी एकीकरणका बाँकी काम पनि अघि बढ्न सकेका छैनन् । २०७७ साल चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय पार्टीले यस अघि नै गरिसकेको छ । २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । यसबीचमा पार्टी एकतालाई पूर्णता दिन धैरै काम भए पनि एकताका कतिपय काम हुन बाँकी छन् । तर पार्टी एकता र सरकार सञ्चालनलाई प्रभावकारी बनाउँदै लैजाने सहमति भए पनि तिनको कार्यान्वयनमा नेतृत्व तहमा असमझदारी उत्पन्न हुँदा भने पार्टीमा समस्या बल्झिने गरेको छ ।

यसबीचमा पार्टीमा देखिएको अन्तरविरोधलाई दुई अध्यक्षबीचको वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने भनाइ पार्टी कार्यकर्ताहरुको छ । यसैगरी दुवै पक्षका बेग्ला बेग्लै भेला गर्नु भन्दा पार्टीमा दखिएका अन्तर विरोध आपसी छलफर र परामर्शबाटै टुङ्ग्याउने र एकता कायम गर्नु पर्ने दबाब भने पार्टी कार्यकताहरुले दिइ नै रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.