जापानी पैसा बनाउन प्रयोग हुन्छ नेपालको ‘अर्गेली’

पाँचथर-  बिगतको बर्षहरुमा ८० रुपैँया प्रतिकिलोमा बिक्री हुँदै आएको अर्गेलीको बोक्रा पाँच सय रुपैँयामा बिक्री हुन थालेपछि पाँचथरका किसानहरु खुशी भएका छन् ।

पुस्तौँदेखि स्थानीय हाते कागज बनाउन प्रयोग हुँदै आएको अर्गेली जापान निकासी हुन थालेपछि किसानले अर्गेलीको उचित मुल्य पाएका हुन ।

सदावहार बुट्यानको रुपमा पाइने यो अर्गेलीको बैज्ञानिक नाम Edgeworthia gardneri हो । सामन्यता २ मिटरसम्म अग्लो हुने यो विरुवा नेपालको ३००० मिटर उचाई भएको भू-भागसम्ममा पाइन्छ ।

परम्परागत शैलीमा अर्गेली खेती गर्ने र परम्परागत तरिकाबाटै बोक्राबाट कागज बनाउने गरेका किसानहरु जापानीज प्रबिधि प्रयोग गरेर कागज तयार गर्न थालेपछि झन उत्साहित भएको  र  मुल्य पनि पाएको फालेलुङ् गाउँपालिका -८ निवासी किसान राजकुमार जबेगुले बताउनुभयो ।

यतिबेला किसानहरुले पाँचथर जिल्लाको नाङ्गो पहाडको भिरपाखामा अर्गेली रोप्न थालेकाछन् ।

एकै जनाले १५ लाखसम्मको अर्गेली बिक्री गर्न थालेपछि धेरैजसो किसानहरुको अर्गेली खेती गर्नेतर्फ ध्यान गएको फिदिम नगरपालिका- १० का कृषक लोब बहादुर थाम्सुहाङ् बताउनुहुन्छ ।

जिल्लाको अधिकांश स्थानमा अर्गेली खेती हुने र यो खेती गर्ने किसानलाई सरकारले समेत अनुदान दिँदै आएको छ ।

आधुनिक प्रबिधिमा अर्गेली खेती गर्न सहयोग पाएसँगै उत्साहित भएर खेती बिस्तार गरेपछि अर्गेली उत्पादन बढेको डिभिजन वन कार्यालय पाँचथरले जनाएको छ ।

तीन बर्ष अघिबाट जापान निकासी हुन थालेको अर्गेली अहिले डेढ लाख किलोभन्दा बढी निकासी हुँदा राजश्व संकलनमा समेत सहयोग पुगेको वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्टले जानकारी दिनुभयो ।

पाँचथरमा पाइने अर्गेली जापानीज नोट “यान” बनाउन उपयुक्त भएपछि राम्रो मुल्य पाएको र बढी माग हुन थालेको स्थानीय किसानको भनाइ छ ।

यतिबेला एकै जनाले  डेढ सय रोपनीसम्ममा अर्गेली खेती लगाएको स्थानीय व्यवसायी होमराज थाम्सुहाङको भनाइ छ ।

उच्च मुल्यसँगै बढी माग हुन थालेपछि जिल्लाको अधिकांश स्थानमा अर्गेली खेती गर्ने किसानको संख्या बढेको छ ।

अहिले पाँचथरमा पाँचहजार परिवारले निजी र सामुदायिक वनमा गरी पचास हजार रोपनीमा अर्गेलीको खेती गर्न थालेको वन कार्यालयसँग तथ्याङ्क छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.