विकट गाउँमा आधारभूत सेवा पुगेपछि स्थानीय हर्षित
मनाङ- सामान्य टाउको दुख्दा सिटामोल किन्न पनि दुई दिन लगाएर सदरमुकाम चामे धाउनुपर्ने मनाङ नार्पाभूमीका स्थानीयले अहिले गाउँमै उपचार सेवा पाएका छन ।
गाउँमा स्वस्थ्य चौकी स्थापना भएपछि उनीहरुले उपचारको सुविधा घरआँगनमा नै पाएका हुन ।
यतिमात्र होइन नार्पाभूमिका स्थानीयले अहिले शिक्षा, संचार जस्ता महत्वपूर्ण सेवा पनि गाउँमै पाएका छन ।
स्थानीय सरकार अर्थात स्थानीय तहको निर्वाचनपछि उनीहरुले यस्ता धेरै सुविधा गाउँमै पाएका छन। यसले संघीयताको महत्व कति हुँदो रहेछ भन्ने स्पष्ट पारेको उनीहरुको भनाइ छ ।
तर हिमाल पारिको जिल्ला मनाङको यो नार्पाभूमि गाउँपालिकामा भौगोलिक विकटतका कारण अहिलेसम्म मोटरबाटो भने पुग्न सेकेको छैन । मोटरबाटोको लागि ट्रयाक खोल्ने काम चाहिँ भइरहेको छ ।
यहाँ यातायात र सामान ढुवानीको मुख्य आधार मानिने घोरेटो बाटो बनाउने काम पनि सँगसँगै भइरहेको छ ।
धेरै सुबिधा थपिँदै गएपनि इन्टरनेटको सुबिधा उपलब्ध हुन नसक्दा बैँक तथा सरकारी काम गर्न कठिन भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
कृषि, पशुपालन जडिबुटी र पर्यटन व्यवसायमा रमाउँदै आएका यहाँका मानिसहरु अहिले ब्याबसायिक खेतीपातीमा पनि आकर्षित हुँदै गएका छन ।
आलु, गहुँ, करुमा आत्मनिर्भर भएकाहरुले अहिले घरघरमा टनेल बनाएर तरकारी खेती पनि शुरु गरेका छन ।
स्थानीय तहको निर्बाचनपछि विकट गाउँ नार्पाभूमिका स्थानीय सिंहदरबारको सुबिधा विस्तारै गाउँमा आएको महसुस गर्न थालेका छन ।।
प्रतिक्रिया राख्नुहोस्