नेपाल टेलिभिजन मन्त्रालयको उच्च मूल्याङ्कनमाः सञ्चार मन्त्री (भिडियोसहित)
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विकास निर्माण लगायत कामहरु जनता समक्ष पुर्याई सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’को सपना पूरा गर्न नेपाल टेलिभिजनले अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको बारेमा जानकारी लिने क्रममा नेपाल टेलिभिजन सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरुले कोभिड महामारीबाट शिक्षा लिएर संकटको समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमहरुले नकारात्मकभन्दा समाज रुपान्तरणको काममा सहयोग पुग्ने सकारात्मक प्रस्तुतिमा ध्यान दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । साथै नेपाल टेलिभिजन मन्त्रालयको उच्च मूल्याङ्कनमा परेकोले संस्थानमा कार्यरत सबैको योगदानको समेत मन्त्री गुरुङले सराहना गर्नुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सार्वजनिक सेवालाई जनस्तरमा पुर्याउने आधिकारिक र प्रभावकारी माध्यमको रुपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले जनताका आकांक्षा र भावना अनुसारका समाचार र कार्यक्रमहरु नेपाल टेलिभिजनले प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सुरुमा नेपाल टेलिभिजनको वर्तमान अवस्था र भावी कार्ययोजनाको बारेमा जानकारी गराउनुहुँदै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजन उच्च गुणस्तरको एचडी प्रविधिमा रुपान्तरण भएसँगै पहुँचमा विस्तार र विषयवस्तुको सुधारमा लागिरहेको जानकारी गराउनुभयो ।
संस्थानका महाप्रबन्धक गोविन्द रोकाले कोभिड १९ को महामारीको वर्तमान समयमा सुरक्षा सतर्कता अपनाउँदै नेपाल टेलिभिजनका कर्मचारीहरु अहोरात्र खटिइरहेको बताउँदै सरकारले पत्रकारहरुलाई पनि अग्रपंक्तिका रुपमा परिभाषित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनका विभिन्न कार्यक्रम उत्पादन एवं प्रसारण स्टुडियोहरुको अवलोकन गर्नुभयो ।
नेपाल टेलिभिजन राष्ट्रिय प्रसारण, एनटिभी प्लस, एनटिभी न्युज च्यानल, एनटिभी कोहलपुर र एनटिभी इटहरी गरी ५ वटा च्यानलहरु सञ्चालित छन् ।
नेपाल टेलिभिजनका समाचार र कार्यक्रमहरु प्रविधिहरुको उपयोग गर्दै इन्टरनेट मार्फत नेपाल टेलिभिजनको वेबसाइट, मोबाइल एप्स, युट्युव, फेसबुक जस्ता सामाजिक सञ्जालहरु मार्फत पनि प्रसारण भइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्