पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल बन्द
रसुवा-रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल अनिश्चित कालका लागि बन्द गरिएका छन ।
जिल्लामा बढदो कोरोनाको संक्रमण र कोरोनाबाट लाङटाङ पनि उच्च जोखिममा रहेको हुँदा हाल पर्यटकहरु लक्षित सबै होटल बन्द गरिएको लाङटाङ होटेल व्यवसायी समितिले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर- ४ को लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका रिम्छे, लामा होटेल, रिभर साइड, घोडातबेला तथा थाङस्याब, गुम्बाडाँडा, लाङटाङ, मुन्डु र क्याङजिन गुम्बाका होटेल अनिश्चित कालका लागि बन्द गरिएको गोसाइँकुण्ड गाउँपालिका– ४ का वडा अध्यक्ष सुब्बा लामाले बताउनु भयो ।
मौसम सफा हुने र धेरै मनोरम दृश्यावलोकन गर्न सकिने समय भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने बेलामा बढ्दो कोरोनाको संक्रमणले होटल बन्द गर्नु परेको धेजेन तामाङले बताउनुभयो ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार केहिदिन यता जिल्लामा दैनिक जसो कोरोनाका संक्रमित बढेका छन । कर्मचारीहरु तथा उनीहरुका नातेदारमा समेत संक्रमण देखिएपछि अत्याबश्यक सेवाबाहेक सबै सेवाहरु बन्द गरिएको हो ।
जिल्ला अस्पतालका तीन जना र अन्य चार जना गरी सातजनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ६ पुगेको र अहिले जिल्लामा ४८ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमित मध्ये ४४ जना होम आइसोलेसनमा र चारजना संस्थागत आइसोलेशनमा रहेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्