सातदोबाटो–गोदावरी सडक स्तरोन्नति ढिलाइ भएकोमा प्रधानमन्त्रीको चासो (भिडियो रिपोर्ट)

काठमाडौं– ललितपुर जिल्लाको सातदोबाटोदेखि गोदावरीसम्मको सात किलोमिटर सडक खण्ड स्तरोन्नतिको कार्य ढिलाईप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । कोभिड लगाएत मुआब्जा समस्या र स्थानीयहरुको अवरोधका कारण सडक स्तरोन्नतिको कार्यमा ढिलाइ भएको सम्बन्धित निकायको भनाइ रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर जिल्लाको सातदोबाटोदेखि गोदावरी खण्डको सडक स्तरोन्नतिमा भइरहेको ढिलाइप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ३ गोदावरीमा निर्माण भैरहेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सम्मेलन केन्द्रको अवलोकनको क्रममा प्रधानमन्त्री ओलीले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओली यही बिग्रिएको सडक हुँदै गोदावरी पुग्नु भएको थियो ।

यसैबीच सातदोबाटोदेखि गोदावरीसम्मको सडक स्तरोन्नतिमा भइरहेको ढिलाइप्रति सडक विभागसँग हामीले जिज्ञासा राखेका छौं । कोभिड लगाएत क्षतिपूर्ति, मुआब्जा समस्या र स्थानीयहरुको अवरोधका कारण सडक निर्माणमा केही ढिलाइ भएको स्वीकार गर्दै आउँदो असार मसान्तसम्ममा सडक निर्माण कार्य सम्पन्न गरिने सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभएको छ ।

सातदोबाटोदेखि केही अगाडि कर्मनासा खोलादेखि गोदावरीसम्मको सात किलोमिटर सडकको स्तरोन्नतिको कार्य दुई वर्षदेखि सुरु गरिएको हो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दुई फरक ठेक्कामार्फत सडक स्तरोन्नतिको कार्य गरिरहेको छ । सडक निर्माण ढिलाईप्रति स्थानीयहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।

२२ मिटर चौडा सडक स्तरोन्नति गर्ने सरकारको योजना सफल नहुने भएपछि जग्गाको उपलब्धताका आधारमा सोही अनुसार सडकको स्तरोन्नतिको कार्य भइरहेको सडक विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.