बाइडन निर्वाचित हुन १७ मतमात्रै बाँकी, ट्रम्पले लगाए धाँधलीको आरोप

न्यूयोर्क- अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ५ सय ३८ निर्वाचक मतमध्ये अब ७१ मतका लागि मतगणना गर्न बाँकी छ । बाइडेनले विजयी हुन आवश्यक पर्ने २ सय ७० निर्वाचक मत हासिल गर्न १७ मत जित्नु पर्ने अवस्था छ ।

बाइडेनको २ सय ५३ र डोनाल्ड ट्रम्पको २ सय १४ निर्वाचक मत छ । केही राज्यमा मत गन्न बाँकी छ । हुलाकमार्फत पठाइएका मतपत्र प्राप्त हुन ढिलाइ भएकोले पनि नतिजा आउन ढिलो भएको छ भने केही राज्यमा मतगणना दोहोर्‍याउनु पर्ने उजुरी ट्रम्प पक्षले गरेकोले पनि ढिलाइ भएको समाचारमा जनाइएको छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति निर्वाचित हुन निर्वाचक मण्डलका कुल ५३८ मध्ये २७० मत ल्याउनु पर्नेमा डेमोक्रयाटिक पार्टीका जो बाइडेनले हालसम्म २५३ मत प्राप्त गर्नु भएको छ भने रिपब्लिकन दलका राष्ट्रपति डोनल्ड ट्रम्पको २१३ निर्वाचक मत छ। नतिजा आउन बाँकीमध्ये एरिजोना र नेभाडा राज्यमा बाइडन अगाडि हुनुहुन्छ।

ती २ वटा राज्यबाट प्रप्त हुने १७ मत थपिएमा बाइडनको मत २७० पुगिहाल्छ र उहाँ राष्ट्रपति पदमा निर्वाचित हुनुहुन्छ। पेन्सलभानिया, जर्जिया, नर्थ क्यारोलाइना र अलास्का राज्यमा भने राष्ट्रपति ट्रम्प अगाडि हुनुहुन्छ। यी ४ वटा राज्यमा गरी ५४ मत छन् र यो सबै जित्दा पनि उहाँको मत २७० पुग्दैन। निर्वाचन नतिजालाई नजिकबाट नियाल्दै आएका विश्लेषक तथा पत्रकारहरूले जो बाइडनको विजय निश्चित भइसकेको बताउन थालेका छन्।

यसैगरी अमेरिकी सिनेटका १०० मध्ये हालसम्म दुवै दलले ४७ / ४७ स्थान जितेका छन्। ६ वटा स्थानको नतिजा आउन बाँकी छ। प्रतिनिधिसभाका ४३५ स्थानमध्ये १९९ स्थानमा डेमेक्रेटिक र १८८ स्थानमा रिपब्लिकन दलका उम्मेदवार निर्वाचित भएका छन्। यसैबीच राष्ट्रपति ट्रम्पका पक्षधरहरूले पेन्सलभानिया, विस्कन्सन, जर्जिया र मिशिगन राज्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरेका छन्। केही राज्यमा राष्ट्रपति ट्रम्पका अभिव्यक्तिको विरोधमा पनि प्रदर्शन भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.