कोरोनाबाट कामदार र कर्मचारी जोगाउनै मुस्किल
काठमाडौं– कोरोना महामारीले प्रत्येक तह र तप्कालाई असर गरेको अवस्थामा उद्योग र कलकारखाना सञ्चालन कार्यमा संलग्न व्यवस्थापकका समस्या पनि फरक छैन । वस्तु र सेवा उत्पादन गर्ने, बजारसम्म पुर्याउने र काम गर्ने कामदार र कर्मचारीलाई उनीहरुको रोजगारी गुम्नबाट कसरी जोगाउने चुनौती पनि व्यवस्थापकहरुले भोग्दै आएका छन् ।
कोभिड १९ को महामारीले आम मानिस लगायत संघ(संस्था, कार्यालय, कलकारखाना समेतको दैनिक गतिविधि प्रभावित हुँदै आएको छ। यो असहज परिस्थितिमा आफ्नो र मातहतका व्यक्तिको स्वास्थ्य सुरक्षालाई व्यवस्थित गर्दै कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने चुनौती व्यवस्थापकहरूमा छ ।
कामदार र कर्मचारीलाई नियमित रुपमा काममा संलग्न गराउनै कठिन भएकोले कारोबार ठप्प हुने अवस्था आएको व्यवस्थापकले बताएका छन् ।
कोरोना महामारीले पर्यटन, यातायात लगायतका क्षेत्र अति प्रभावित भएका छन्। यो क्षेत्रबाट ठूलो मात्रामा रोजगारी कटौती भएको छ भने मध्यमस्तरमा प्रभावित उद्योग र कारखानाहरुबाट समेत केही कर्मचारी कटौति गरिएको छ । कृषि, औषधिजन्य र खाद्यान्न उद्योगमा केही कम असर परेको भएपनि यी उद्योगका उत्पादनलाई बजार सम्म पुर्याउन भने समस्या रहँदै आएको छ ।
कोरोनाका कारण केही क्षेत्रमा नयाँ अवसर सृजना भएका पनि छन्। तर समग्र अर्थव्यवस्थामा भएको क्षति र नोक्सानीबाट पार पाउन केही समय लाग्ने नेपाल व्यवस्थापन संघले जनाएको छ ।
कोरोना महामारी अझ लामो समय सम्म जान सक्ने भएकाले पूर्णरुपमा बन्दाबन्दी गर्न नसकिएपनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर आआफ्नो कारोबारलाई अगाडि बढाउनुपर्ने सुझाव संघको छ ।
प्रतिक्रिया राख्नुहोस्